चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ रहेनन्, बेलायतमा निधन

बिएल

चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ भुटियाको बेलायतमा सोमबार निधन भएको छ। पछिल्लो समय उनी घाँटीको क्यान्सरबाट पीडित थिए।

८० को दशकको सुरुवाततिर नेपाली सांगीतिक क्षितिजमा उदाएका नोर्देन हङकङमा स्थापना भएको ‘दि हिमालयन ब्यान्ड’ मा सक्रिय थिए। उनी पछिल्लो समय बेलायतको एल्डरसेटमा बसोबास गर्दै आइरहेका थिए।

उनको निधनको विषयमा बीएल नेपाली सेवालाई जानकारी दिँदै सिनियर टेलिभिजन उद्घोषक प्रभात रिमालले भने, ‘उनको निधनले नेपाली सांगीतिक क्षेत्रलाई ठूलो क्षति भएको छ।’ रिमालले आफू कान्तिपुर एफएममा कार्यरत रहँदा ‘हिमालयन ब्यान्ड’ लाई दिएको ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डको घटना स्मरण गर्दै भने, ‘उहाँ त आउन पाउनु भएन तर ब्यान्डका अर्का सदस्य फ्याङ्लिन मुखिया दार्जीलिङबाट काठमाडौं आउनु भएको थियो।’

नोर्देनले ३५ वर्ष बेलायती सेनामा सेवा गरेका थिए। उनी १९७१ सालमा गोर्खा सेनामा भर्ना भएका थिए।

उनको ‘मुसुमुसु हासिदेउ न लैलै’, ‘मलाई धेरै धेरै माया चाहिन्छ कि सोधन’, ‘गाजलुले आँखै छोप्ने’, ‘मायाले माया गासिदेउ’, ‘चिसो बतास ले’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘गुराँस जब फुल्दछ,’ जस्ता चर्चित गीत गाएका थिए।

याे पनि पढ्नुहाेस।

जब प्रेमध्वजले ‘फिल्म फेयर अवार्ड’ मा किशोर कुमारको गीत गाए

बाथरुम सिंगरबाट स्टार बनेका दीपक खरेल

दार्जीलिङ कस्र्याङका स्थायी बासिन्दा नोर्देन ११ वर्षको कलिलो उमेरदेखि नै संगीतमा भिजेका थिए। उनकै सक्रियतामा ८० को दशकको सुरुवातमै ‘हिमालयन ब्यान्ड’ स्थापना भएको थियो।

उनले सेनामै हुँदा १९८१ मा ‘फर्कि हेरे मेरो जीवन तमासा’ गीत गाएर ख्याती कमाएका थिए। उनले यो गीत हङकङमा ७ जिआरमा कार्यरत रहँदा रेकर्ड गराएका थिए। ‘हिमालयन ब्यान्ड’ छोटो समय मात्र अस्तित्वमा देखा परेको थियो। तर, नोर्देनको लोकप्रिय गीतका कारण अहिले पनि यो ब्यान्ड नेपाली संगीतमा जीवन्त रहँदै आइरहेको छ।

नोर्देन तेन्जिङकै गीत गाएर ९० को दशकमा चर्चित बनेका अर्का नेपाली पप गायक सञ्जय श्रेष्ठले उनको निधनमा दुःख व्यक्त गरे।

‘२० वर्षअघि धोबिधाराको संगम स्टुडियोमा उहाँले आफ्नो हिमालयन समूहको गीतहरू म लगायत अरु गायक दाजुहरूलाई आधिकारिक रुपमा गाउन दिएर ‘हिमालयन्स’ भनेर एउटा एल्बम निकाल्नु भएको थियो। मेरो अहोभाग्य त्यतिबेला देखि मैले उहाँहरूको प्रख्यात गीत ‘मुसुमुसु हासिदेउ’ आधिकारिक रूपमा गाउन पाएँ र आजपर्यन्त गाइरहेछु,’ सञ्जय श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन्।

याे पनि पढ्नुहाेस।

एभानको प्रजनन अंग र त्यसलाई मुसारेर आमा बन्न चाहने महिलाहरू ! (भिडियोसहित)

 

 

प्रकाशित मिति: : 2019-08-06 10:32:44

प्रतिकृया दिनुहोस्