ह्वावेईका मोबाइल फोन विक्री ४० प्रतिशतले घट्यो

तस्बिरः एजेन्सी

चिनियाँ प्रविधि कम्पनी ह्वावेईको मोबाइल फोन बिक्री ४० प्रतिशतले घटेको छ।

ह्वावेईका संस्थापक रेन जेङ्फीका अनुसार अन्तर्राष्ट्रिय बजारमा ह्वावेईका मोबाइल फोनहरूको बिक्री गत महिना ४० प्रतिशतले घटेको हो।

अमेरिकासँग हुवावेको बढ्दो तनावले कम्पनीका फोन बिक्रीमा गिरावट आएको भन्दै संस्थापक रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताएका छन्।

नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीले ह्वावेईसँग काम गर्न पाउँदैनन्।

चिनियाँ प्रविधि कम्पनी ह्वावेईका संस्थापक रेन जेङ्फी। तस्बिरः एपी

दूरसञ्चार उपकरण उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो र स्मार्टफोनको दोस्रो ठूलो उत्पादनकर्ता बनेको ह्वावेईले सुरक्षा जोखिम सिर्जना गरेको आरोपमा अमेरिकाले यसको विरोध गर्दै आएको छ।

ह्वावेईले भने त्यसलाई अस्वीकार गर्दै आरोप लगाइए जसरी आफ्नो सूचना प्रणालीमा चीन सरकारको नियन्त्रण नहुने बताएको छ।

सन् २०१९ र २०२० मा हुवावेको विक्री एक सय अर्ब डलरमा सीमित हुने अपेक्षा गरिएको छ। यसअघि सन् २०१९ मा ह्वावेईले विक्रीको प्रक्षेपण झन्डै १२५ अर्ब डलर बराबरको गरेको थियो।

यद्यपि सन् २०२१ सम्ममा कम्पनी आफ्नो पुरानै ऊर्जासाथ ब्युँतने रेनले दाबी गरेका छन्।

ह्वावेईले स्मार्टफोनको विक्री विश्वभर उल्लेख्य रूपमा घटे पनि चीनमा बढिरहेको कम्पनीको दाबी छ। यसअघि कम्पनीले अमेरिकी प्रतिबन्धले ह्वावेईलाई ठूलो असर नपार्ने बताउँदै आएको थियो।

बिक्री घटेसँगै आफ्नो कम्पनीलाई निकै नराम्ररी बिग्रिएको हवाईजहाजसँग तुलना गर्दै उनले कम्पनीको अनुसन्धान तथा विकासतर्फको रकम कटौती नगर्ने बताएका छन्।

अमेरिकाले लिएको पछिल्ला कदमका कारण विश्वभरका प्रविधि कम्पनीहरू ह्वावेईसँगको सम्बन्धमा पछाडि हट्न बाध्य भएका थिए।

ब्रिटेनले भने ह्वावेईमाथि अहिलेसम्म कुनै औपचारिक प्रतिबन्ध लगाएको छैन।

प्रकाशित मिति: : 2019-06-18 08:38:52

प्रतिकृया दिनुहोस्