सेतो गाडी, निलो रङ्गको नम्बर प्लेट।
प्रायः नेपालीले चिन्ने गाडीको बाहिरी आवरण हो, यूएनको।
नेपालमा माओवादी द्वन्द्व चर्कदा होस् वा सडकमा आन्दोलन, जुलुस हुँदा। निलो नम्बर प्लेटको गाडी सहजताका साथ गुड्न पाउथ्यो र पाउँछ पनि।
यूएनले महिला तथा बालबालिकाको क्षेत्रमा धेरै काम गरेको छ।
अझ नेपालमा यूएनअन्र्तगत महिला चालक राखेपछि त गाउँ गाउँमा सेतो गाडीमा निलो रङ्गको नम्बर प्लेट हेर्नेको लर्को नै लाग्थ्यो। हामीले यस्तै निलो प्लेट नम्बरमा सेतो गाडी चलाउने महिला चालकलाई भेट्ने कोशिश गरेका थियौं ।
केही फिल्डमा थिए भने केहीले जागिर जाने डरले बोल्न मानेनन्।
नेपालमा यूएनको पहिलो महिला चालक खोज्दै जाँदा उनी साझा यातायातमा भेटिइन्। हरमिता श्रेष्ठ, नेपालमा यूएनको गाडी चलाउने पहिलो महिला चालक।
उनीसँग फोनमा मात्रै कुरा भएको थियो। एका बिहान हतारमा थिइन्, सायद। यही हतारोका बीच हामीले समय मागेका थियौं। एक महिला पल्सर
बाइक हुईक्याउँदै साझा यातायातको पार्किङ भित्र छिरिन्। मैले अनुमान लगाइसकेको थिए, सायद यिनै हुनुपर्छ हरमिता।
याे पनि पढ्नुहाेस।
म उनलाई पछ्याउँदै भित्र पसे। उनी बाइक राख्ने ठाँउ खोजीरहेकी थिइन्।
साझाका गाडी लस्करै आफ्नो रूटमा जाँदै थिए।
हरमितालाई ढिलो भैसकेको थियो।
हतारकै बीचमा उनीसँग भेट भयो।
भनिन्, ‘ए भिडियो पो रहेछ। पख्नुस्..पख्नुस्, एकछिन धुलो टकटक्याउँन दिनुस्।’
उनी दैनिक दक्षिणकालीबाट काममा आउँदिरहेछिन्। पालो अनुसार आफूले चलाउने बस खोज्दै प्रस्टीकरण दिइन्, ‘के गर्नु पानीमा हिलो र घाममा धुलो हुन्छ।
त्यही भएर जहिले पनि रेनकोट लगाएर हिड्छु।’
यसपछि बसभित्रै कुरा सुरू भयो, यूएनको गाडी चलाउने पहिलो महिला चालकको रामकहानी।
१६ वर्ष अगाडी यूएनले महिला चालकको माग गरेको रहेछ।
माग अनुसार प्रतिस्पर्धामा खरो उत्रिएपछि सन् २००३ बाट उनी यूएनमा महिला गाडी चालकको रूपमा जागिरे भइन्।
नेपालमा त्यति बेला माओवादी द्वन्द्व चरममा थियो।
याे पनि हेर्नुहाेस।
युएनको गाडी लिएर सप्तरी जाँदा एउटा हुलले गाडीमा पेट्रोल छर्कियो।
हरमितालाई लाग्यो अब मरियो।
उनले हरेस खाइनन्।
‘ब्याक गियर’ गरिन् र एउटा कुनामा गाडी थन्क्याएर आन्दोलनकारीसँग सिधै वार्ता गर्न उत्रिइन्।
पुरानो कुरा सम्झँदा अहिले पनि रोमाञ्चित हुने हरमिता आन्दोलनकारीसँग भएको कुरा सुनाउँछिन्, ‘यूएनको गाडी हो।
हामी शान्ति स्थापनाका लागि काम गर्छौ।
महिला तथा बालबालिकाको अफिस र स्कुलमा पुगेर आएका हौं।
हामी राजनीति गर्ने मान्छे होइन।’
हरमिताको आत्मविश्वास देखेपछि आन्दोलनकारीले गाडी अर्के बाटोबाट लैजान स्विकृति दिए।
त्यो घटना उनको जीवनको सबैभन्दा डर लाग्दो दिन थियो।
याे पनि हेर्नुहाेस।
यूएनमा काम गर्दा कहाँ जाने? के गर्ने? कति दिन? भनेर फर्म भर्नुपर्छ र ठाउँ ठाउँमा वाकटकीमा कुरा गरेर अपडेट गराइरहनुु पर्छ।
गाडी चलाउँदा रसुवा, धुन्चेको साघँरा बाटादेखि सुदूरपश्चिमसम्म पुगेकी छिन्, हरमिता।
उनलाई सुदूरपश्चिम भन्दा पूर्व सुगम लाग्छ।
सुदूरको गाउँको अवस्थाले उनलाई निकै भावुक पनि बनाएको छ।
हरमितालाई द्वन्द्वकालमा भीरपाखामा गाडी चलाएको देख्दा हेर्नेहरूको लर्के लाग्थ्यो।
रसुवा, धुन्चेमा भूइँचालो गएको बेला पनि उनी सारै डराएकी थिइन।
भूइँचालो कुन बेला जाने हो, थाहा छैन। अझ, पहिरो गएको ठाउँमा उस्तै चुनौति।
हरमितालाई माडीको सम्झना खुब रमाइलो लाग्छ।
त्यहाँ यूएनअन्र्तगत युनिसेफले शौचालय निर्माणको कार्य गरिरहेको थियो।
सो कार्य पुरा भएको उपलक्ष्यमा एक विदेशी सरलाई लगेर जाँदा उनलाई नेपाली ढाकाटोपी लगाइदिएर बाजागाजा सहित गरेको आतिथ्य उनलाई सम्झनामा आइरहन्छ।
हरमिता श्रेष्ठको दुई सन्तान छन्।
जो हुर्की सकेका छन्।
उनी आफ्नो व्यक्तिगत जीवन बारेमा खासै बोल्न रुचाउँदिनन्।
यूएनडिपी बाट सरूवा हुँदै युनिसेफमा पनि हरमिताले लामो समय काम गरिन्।
उनी पहिले राष्ट्रिय महिला आयोगको गाडी चलाउँथिन्। दुर्गा पोख्रेल राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा हरमिता काम गर्थिन्।
याे पनि हेर्नुहाेस।
उनलाई एक्कासी यूएनको गाडी चलाएको देखेपछि ट्राफिक प्रहरी र प्रहरीले आश्चर्य मान्दै सोध्ने गर्थे रे– तपाई कसरी यूएनमा जागिरे हुनुभयो।
हरमिता आफू यूएनमा कार्यरत रहँदा इन्दिरा म्यामले गरेको सहयोगका लागि सधै आभार व्यक्त गर्छिन्।
इन्दिरा म्यामसँग गाडीमा थुप्रै ठाउँ हिडेको अनुभव छ, उनीसँग।
अहिले यूएनअन्र्तगतका शाखामा शुशिला राना, बबिता मोक्तान, सोनी तामाङ महिला चालकका रुपमा कार्यरत छन्।
कमला श्रेष्ठ यूएनडिपीमा कार्यरत छिन्। कमला श्रेष्ठ यूएनको प्रोजेक्टमा गाडी चलाउने दोस्रो महिला चालक हुन्।
माया माझीले सन् २००३ बाट यूएनएचसिआरबाट चालकका रुपमा काम सुरु गरिन्। अहिले उनी डव्ल्यूएफपीमा कार्यरत छिन्। शर्मिला राई पनि युनिसेफमा कार्यरत महिला चालक हुन्।
शर्मिलासँग केही वर्षअघि भूइँचालो गएको बेला दोलखा पुग्ने अवसर जुरेको थियो। उनले गाडी हाँक्दा भूइँचालो गएको पीडा एकछिन बर्सिएर मानिसहरू उनले हाँकेको गाडी हेर्न उभिन्थे।
शर्मिलाका लागि त्यो अनुभव नौलो थिएन। उनी ‘फिल्ड भिजिट’ मा दूर्गम पहाडी गाउँ पुग्दा साघुँरोबाटोमा उनलाई साइड दिइरहेका अन्य गाडीका चालक भन्ने गर्थे– ‘ए हेर त यार! महिला पो रहेछ चलाउने।’
प्रायः पुरूषले मात्रै गाडी चलाउने सोचलाई यूएनले परिवर्तन गर्दै महिलाका लागि अवसर सिर्जना गरेको थियो।
शर्मिला तराईमा जाँदा महिलाहरू घुम्टोमा बसेर भएपनि चियाएर हेर्थे र बच्चाहरूले पुरै गाडी घेर्थे।
लडकी त गाडी हाकैछे, भन्थे।
खोटाङबाट उच्चशिक्षा पढ्न भनेर काठमाडौं छिरेकी शर्मिला दाइभाउजुसँग डेरामा बस्थिन्। एकदिन दाइ बिरामी भए। दाइलाई अस्पताल ल्याउने, पुर्याउने काम गर्दा गर्दै उनी गाडीमा पोख्त भइन्।
युनिसेफमा महिला चालकका लागि खुलेको आव्हानमा पहिलो पटक फेल भइन्। सानो गाडी चलाउने बानी परेकी शर्मिला ठूलो गाडी देख्दा अतालिएकी थिइन। दोस्रो पटक भने युनएफपीमा ४ महिला मध्ये उनले ट्रायल पास गरिन् र तेस्रो महिला गाडी चालकको सुचीमा दरिन पुगिन्।
यसपछि युनिसेफ हुँदै अहिले सम्म उनको यात्रा जारी छ।
शर्मिलाको उचाईले साथ नदिएपनि उनको सीप र क्षमताले कहिले धोका दिएन। शर्मिलालाई परिवारको साथ धेरै छ। उनी भन्छिन्– ‘हाम्रो ड्युटीको फिक्स समय हुँदैन। श्रीमानको साथ नभएको भए कहाँ बच्चाहरु हुर्काउन सकिन्थ्यो? घर कहाँ घर रहन्थ्यो र?’
शर्मिलाका श्रीमान चक्रभुषण पनि आफ्नो श्रीमतिको काम प्रति गर्व गर्छन्। माया पनि उत्तिकै। श्रीमति घर आउँदा खाना पाकिसकेको हुन्छ। उनले नै छोराछोरी स्याहारेका छन्।
शर्मिला र चक्रभुषणका एक छोरा र एक छोरी छन्। शर्मिलाका सासु र ससुरा पनि निकै सहयोगी छन्।
बाँकी भिडियोमा....