एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारार्थ मुस्कान खातुन। तस्बिरः बिमला गुप्ता/बिएल

आफूमाथि एसिड प्रहार गर्ने दोषीलाई फाँसीको सजाय दिन मुस्कान खातुनले माग गरेकी छिन्। शुक्रबार वीरगञ्जको छप्कैयामा स्कुल जाने क्रममा १५ वर्षीय मुस्कानमाथि एसिड प्रहार भएको थियो।

उनलाई सोही गाउँमा बस्ने समसाद आलमले एसिड प्रहार गरेका थिए। रेशमकोठी स्थित त्रिभुवन उच्च माविमा ९ कक्षामा अध्ययनरत मुस्कान बिहान ६ बजे स्कुल जाँदै गर्दा बाटोमा समसाद आलमले एसिड प्रहार गरेका थिए।

उनलाई पहिले नारायणी अस्पतालमा उपचारका लागि राखिएको थियो र थप उपचारका लागि शुक्रबार नै राजधानीको कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

शनिबार बीएल नेपाली सेवासँग कुरा गर्दै मुस्कानले भनिन्, ‘दोषीलाई फाँसी होस्। घण्टाघरमा झुण्ड्याएर मारियोस्। मलाई जस्तो अरुलाई नहोस्।’

मुस्कानलाई सोही गाउँका एक स्थानीय युवा माबिद आलमले ६ महिनाअघि जिस्काएका थिए। जुन कुराको जानकारी मुस्कानले आफ्नो बाबु रसुल अन्सारीलाई दिएकी थिइन। बुवाले आफ्नो छोरीमाथि भएको दुर्ब्यवहारलाई रोक्न माबिदलाई हप्काएका थिए।

याे पनि: एसिड पीडित मुस्कानको उपचारका लागि परिवारलाई पैसाको चिन्ता

मुस्कानकी आमा

६ महिनाअघि भएको घटनाको बदला स्वरुप उनीमाथि एसिड प्रहार भएको हो। एसिड प्रहार गर्ने समसाद आलम माबिदका साथी हुन्। गणेशमान चौकको गल्लीमा घटना हुँदा माबिद लुकेर बसेका थिए। एसिड प्रहार गर्ने माबिदसहित दुबै जनालाई प्रहरीले शुक्रबार नै समातेको छ।

मुस्कानका बुबा रसुलले इदभन्दा अगाडि आफ्नो छोरीलाई जिस्काएपछि आफूले हप्काएको जानकारी बीएल नेपाली सेवालाई दिए। उनले भने, ‘एसिड प्रहार गर्ने केटासँग हातमा ढुंगा पनि थियो। पहिले टाउकोमा हानेर बेहोस गर्ने र त्यसपछि अनुहारभरी एसिड हाल्ने योजना रहेछ। तर, मान्छेहरूको भीड भएको हुनाले उसले त्यसो गर्न सकेन।’

मुस्कानका बुबा रसुल

एसिड प्रहार गर्नुअघि मुस्कानलाई आफूतर्फ हेर्न आग्रह गरेको तर मुस्कानले नमानेपछि एसिड प्रहार गरिएको थियो। अनुहारतर्फ फ्याँकेको एसिड हातले रोक्दा मुस्कानको दायाँ हातको भाग जलेको छ। उनको छाती पनि जलेको छ।

उनले हिजोदेखि जुस मात्र पिएकी छिन्। मुस्कानलाई कीर्तिपुरको बन अस्पतालको केभिन नम्बर ५ मा राखिएको छ। मुस्कानले आफूलाई अनुहारमा घमण्ड नगर्न पहिलेदेखि धम्की दिने गरेको बताइन्। ‘मलाई भन्थ्यो–त आफ्नो चेहरामा घमण्ड गर्छस् भने चेहरा खतम गरिदिन्छु,’ मुस्कानले भनिन्।

मुस्कानकी आमा सहनाज खातुन अन्सारीले पनि दोषीलाई कडाभन्दा कडा कार्यवाही होस् भन्ने माग राखेकी छिन्।

याे पनि हेर्नुहाेस।

यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

प्रकाशित मिति: : 2019-09-07 19:26:05

प्रतिकृया दिनुहोस्