२० वर्षदेखि श्रीलंकालाई नजितेको इंग्ल्यान्ड आज बदला लिने दाउँमा

Agency

२० वर्षदेखि श्रीलंकालाई विश्व कपमा पराजित गर्न नसकेको आयोजक इंग्ल्यान्ड पुरानो कीर्तिमानको क्रमभंगता मात्र होइन, सेमिफाइनल प्रवेशलाई सहज पनि बनाउन चाहन्छ।
यही उद्धेश्यका साथ इंग्लिस टोली शुक्रबार लीड्स मैदानमा श्रीलंकाविरूद्ध उत्रिँदैछ।

सन् १९९९ को विश्व कपअन्तर्गत लर्ड्समा भएको खेलमा इंग्ल्यान्डले ८ विकेटले श्रीलंकालाई पराजित गरेको थियो।

यस पश्चात इंग्ल्यान्डले विश्व कपमा श्रीलंकालाई पराजित गर्न सकेको छ्रैन। इंग्ल्यान्ड तीन खेलमा श्रीलंकाद्धारा पराजित भएको थियो। श्रीलंकाले २००७ मा २ रन, २०११ मा १० विकेट र २०१५ मा ९ विकेटले इंग्ल्यान्डलाई पराजित गरेको थियो।

इंग्ल्यान्डका लागि यसपालि श्रीलंकासँग पुरानो बदला लिने मौका पनि छ। इंग्लिस ब्याट्सम्यान अहिले फर्ममा देखिन्छन्। खास गरेर कप्तान इयोन मोर्गन र जोए रुटको प्रदर्शन जारी विश्व कपमा उत्कृष्ट मानिएको छ।

हाल इंग्ल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा छ। ५ खेलबाट उसले ८ अंक बटुलिसकेको छ।

श्रीलंकाको भने ५ खेलमा ४ अंक मात्र छ र अंक तालिकाको छैटौं स्थानमा छ। श्रीलंकाले हालसम्म एक खेल मात्र जितेको छ। उसको २ खेल वर्षाले प्रभावित भएको थियो। इंग्ल्यान्डलाई आज पराजित गरेको खण्डमा श्रीलंका ६ अंक बटुलेर बंगलादेशभन्दा अगाडि पाँचौ स्थानमा पुग्ने छ।

यी दुई टिमबीच हालसम्म ७४ एकदिवसीयमा भिड्न्त भएको छ। जसमा इंग्ल्यान्ड ३६ र श्रीलंका ३५ खेलमा विजयी भएको छ।

विश्व कपमा यी टोलीबीच १० खेल भएका छन्। इंग्लिस टोलीले ६ र श्रीलंकाले ४ खेलमा जित सम्भव पारेका छन्।

इंग्लिस मैदानमा यी टोलीबीच ३१ खेल भएका छन्। यसमा पनि अयोजक इंग्ल्यान्ड १६ र श्रीलंका १३ मा विजयी भएको छ।

लीड्स मैदान ब्याट्सम्यानका लागि सहयोगी मानिन्छ। त्यसैले आज टस जित्ने टोलीले पहिले ब्याटिङ गर्ने प्रायः निश्चित छ।

इंग्लिस कप्तान इयोन मोर्गन यतिबेला फर्ममा छन्। अफगानिस्तानविरूद्ध १७ छक्का लगाउँदै ७१ बलमा बनाएको १ सय ४८ रनको बिस्फोटक इनिङका कारण उनी चर्चामा छन्। उनले जारी विश्व कपको ४ खेलमा ६२ दशमलव २५ को औसतले २ सय ४९ रन बनाइसकेका छन्।

यस्तै, अर्का ब्याट्सम्यान जोए रुटले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। उनले ५ खेलमा ९१ दशमलव ७५ को औसतले ३ सय ६७ रन बनाएका छन्। यसबीच उनले दुई सतक पुरा गरेका छन्।

इंग्ल्यान्डको अहिलेको समस्या भनेको जेसन रोयको चोट हो। प्रारम्भिक ब्याट्सम्यान रोय चोटका कारण ३ खेलबाट बाहिर भइसकेका छन्। उनले ३ खेलमा ७१ दशमलव ६७ को औसतले २ सय १५ रन बनाएका थिए। उनको स्थानमा जेम्स विन्सलाई पछिल्लो खेलमा मौका दिइएको थियो। तर, उनको प्रदर्शनले दर्शकको मन तान्न सकेन्। उनले २६ रन मात्र बनाएका थिए।

श्रीलंकाले आजको खेलमा कप्तान दिमुथ करुणारत्नेबाट धेरै आशा राखेको छ। यद्दपि उनले २१ एकदिवसीय मात्र खेलेका छन् तर जारी विश्व कपमा उनले ३ खेलमा ८९ दशमलव ५० को औसतले १ सय ७९ रन बनाइसकेका छन्। अस्ट्रेलियाविरूद्ध १ सय ८ बलमा उनले बनाएको ९७ रनको यादगार इनिङका कारण उनीबाट श्रीलंकाले थुप्रै आशा राखेको छ।

यस्तै, कुसल परेराले पनि ३ खेलमा ५३ को औसतले १ सय ५९ रन बनाएका छन्। उनले दुई खेलमा अर्धसतक पुरा गरिसकेका छन्।

सेमिफाइनल प्रवेशको योजनालाई यथावत राख्न आजको खेलमा श्रीलंकाली बलरको अगाडि ठूलो जिम्मेवारी रहनेछ। यस विश्व कपमा इंग्ल्यान्डको ब्याटिङ लाइन–अप सबैभन्दा बलियो मानिन्छ। उनीहरूलाई रोक्न अनुभवी लसिथ मालिङ्गा र नुवान प्रदीपले उत्कृष्ट बलिङ गर्नुपर्ने छ।

श्रीलंकाली बलरले यसअघि निरास पारेका छन्। उनीहरूले तीन खेलमा १४ विकेट मात्र लिएका छन्। यसमा मालिङ्गा र प्रदीपको नाममा ४–४ विकेट छ।

प्रकाशित मिति: : 2019-06-21 09:54:44

प्रतिकृया दिनुहोस्