बंगलादेशलाई हारको डर, अफगानिस्तान पहिलो जितको खोजीमा

Agency

विश्व कपको अर्को रोचक खेलमा सोमबार बंगलादेश भारतविरूद्ध उत्कृष्ट खेल खेलेको अफगानिस्तानसँग भिड्दै छ। अफगानिस्तान सेमिफाइनलको अंक गणितबाट बाहिरिसकेको छ। तर, आज यो टिमले बंगलादेशलाई पराजित गरेको खण्डमा बंगाली टोलीको पनि सेमिफाइनल प्रवेश गर्ने सम्भावना लगभग समाप्त हुनेछ। त्यसैले आजको खेलमा बंगलादेश कुनै गल्ती दोहर्याउन चाहँदैन्।

बंगलादेशले ६ खेलमा ५ अंक बटुलेको छ। बंगाली टोली हाल अंक तालिकाको छैटौं स्थानमा छ। उसले २ खेलमा जित निकालेको छ भने एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो।

अफगानिस्तान र बंगलादेशबीच विश्व कपमा एक पल्ट मात्र भिड्न्त भएको थियो। सन् २०१५ मा क्यानबेरामा भएको खेलमा बंगलादेश १ सय ५ रनले विजयी भएको थियो। त्यतिबेला बंगलादेशले पहिलो ब्याटिङ गर्दै २ सय ६७ रन बनाएको थियो। प्रतिउत्तरमा अफगानिस्तानले १ सय ६२ रन मात्र फर्कायो।

साउथहाम्पटनमा आयोजना हुने आजको खेल स्पिनरलाई सहयोग पुर्याउने मानिन्छ। भारतविरूद्ध उत्कृष्ट प्रदर्शन गरेका राशिद खान र मोहम्मद नबीको जादु आज चलेको खण्डमा बंगलादेशलाई गाह्रो पर्ने निश्चित छ।

अफगानिस्तान र बंगलादेशबीच एकदिवसीयमा ७ खेल भएका छन्। यसमा बंगलादेश ४ र अफगानिस्तान ३ मा विजयी भएको छ।

बंगलादेशका अलराउन्डर शाकिब अल हसन जारी विश्व कपमा उत्कृष्ट फर्ममा छन्। उनी रन बनाउने ब्याट्सम्यानको पंक्तिमा दोस्रो नम्बरमा छन्। उनले ५ खेलमा १ सय ६ दशमलव २५ को औसतले ४ सय २५ रन बनाएका छन्। जसमा दुई सतक समावेश छ। उनले ५ विकेट पनि लिएका छन्।

यस्तै, विकेटकिपर मुशफिकुर रहिमले पनि ६१ को औसतले २ सय ४४ रन बनाइसकेका छन्। रहिमको नाममा पनि एक सतक र एक अर्धसतक छ। उनले अस्ट्रेलियाविरूद्ध १ सय २ रनको इनिङ खेलेका थिए।

अहिले बंगाली टिममा सौम्य सरकार ‘आउट अफ फर्म’ देखिन्छन्। प्रारम्भिक ब्याट्सम्यान सरकार फर्ममा फर्किएको खण्डमा अफगानी बलरको टाउको दुखाई बन्न सक्छन्। उनले ५ खेलमा १ सय ८ रन मात्र बनाएका छन्।

अफगानिस्तानका लागि कप्तान गुलबदीन नइबको प्रदर्शनले आज पनि महत्व राख्ने छ। उनले ६ खेलमा १ सय २७ रन बनाउनुका साथै ७ विकेट पनि लिएका छन्।

स्पिनर मोहम्मद नबीले भारतविरूद्ध अलराउन्ड प्रदर्शन गरेका थिए। उनी पनि अफगानिस्ताका अर्को महत्वपूर्ण खेलाडी हुन्। उनले २ विकेट लिनुका साथै ५२ रन पनि बनाएका थिए।

टिमका स्टार स्पिनर राशिदले सोचे जस्तो बलिङ गर्न सकिरहेका छैनन्। उनले ६ खेलमा ४ विकेट मात्र लिएका छन्। तर, उनले भारतविरूद्ध राम्रो प्रदर्शन गरेका थिए। आज उनी चलेको खण्डमा बंगलादेशी ब्याट्सम्यानको टाउको दुखाई बन्ने पक्का छ।  उनको प्रदर्शनले आजको खेलको नतिजामा ठूलो अर्थ राख्ने छ।

प्रकाशित मिति: : 2019-06-24 10:31:19

प्रतिकृया दिनुहोस्