चेन्नइयिनसँग ३–२ गोलअन्तरले मनाङ पराजित

काठमाडौँको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको खेल मैदानमा बुधबार एफसीकप फुटबल प्रतियोगितामा नेपालको लिग च्यापियन मनाङ मस्र्याङ्दी क्लब र भारतको सिन्याइनबीच भएको खेलमा एकआपसमा भिड्दै खेलाडी । तस्वीर– चन्द्रकला क्षेत्री

एएफसी कप फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको लिग चरणको आफनो अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो ।

चेन्नईयिनको जितमा मोहमद राफीले दुई गोल गरे भने इला साबिया फिल्होले एक गोल थपे । राफी खेलको ५३ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै खेलको ६७ औँ मिनेटमा फिल्होले एक गोल गर्दै थप्दै चेन्नईयिनको अग्रता दोब्बर बनाए ।

मनाङका आफिज ओलाडिपोले दुई गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए पनि हार भने टर्न सकेन । मनाङका आफिजले खेलको ७१ र ७९औँ मिनेटमा गोल गरेका थिए ।

तर खेलको ८८औँ मिनेटमा चेन्नईयिनका रफीले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो टोलीको जित पक्का गरे ।

एएफसी कपबाट बाहिरिसकेको मनाङका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । समूह इ मा रहेको मनाङले छ खेलबाट दुई अङ्क मात्र जोड्यो ।

जितसँगै चेन्नईयिनले ११ अंक जोडेको छ । उसले छ खेलमा तीन जीत, दुई बराबरी र एक हार ब्यहोरेको छ । समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

 

प्रकाशित मिति: : 2019-06-26 21:15:25

प्रतिकृया दिनुहोस्