हुम्लामा मत गणना अझै हुन सकेन

प्रतिकारत्मक तस्बिर

हुम्लाको खार्पुनाथ गाउँपालिकामा हालसम्म मतगणना हुन सकेको छैन। गाउँपालिकाका विभिन्न वडाबाट गाउँपालिका केन्द्रमा मतपेटिका पुर्‍याउन ढिलाई भएपछि सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको हो।

मतगणना सुरु गर्नका लागि आइतबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिएका छन्। उनले मतगणनाका लागि छलफल भइरहेको बताए।

हुम्लाको खार्पुनाथ गाउँपालिका ८४ प्रतिशत मत खसेको छ। कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८७९ (८४.७ प्रतिशत) मत खसेको छ। गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा तीन राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाही रहेका छन्। त्यहाँ गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: : 2019-12-01 11:08:17

प्रतिकृया दिनुहोस्