अमेरिका छिर्न आतुर छन् आप्रवासी

तस्बिर : एजेन्सी

टेक्सस : एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्तेस पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन्। महिनौंसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एक दिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन्। आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुइँकोसम्म दिइनन्। दक्षिण टेक्ससको क्याथोलिक च्यारिटी शिविरको प्रांगणमा कुरा गरिरहँदा उनका छोरा त्यहीँ नजिकै खेल्दै थिए। बाबुले तातो पानी खन्याइदिएका कारण ती बच्चाको टाउकाको एक भागमा कपाल पनि छैन।

‘म सधैं अपराधीजस्तो भएर बाँचेकी थिएँ’, ३० वर्षीया ओर्बेलिनाले भनिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाउन चाहेको पर्खालले ओर्बेलिनाका जस्ता कथा साँचेका परिवारलाई रोक्ला भन्ने देखिन्न। हरेक महिना यस्तै कथा सँगालेका हजारौं मानिस अमेरिका–मेक्सिकोको सीमा पार गरेर अमेरिका प्रवेश गरिरहेका छन्।

ट्रम्प प्रशासन मेक्सिको सीमामा करिब ३२० किलोमिटर लामो मजबुत पर्खाल बनाउन चाहन्छ। यो पर्खालमध्ये अधिकांश भाग दक्षिण टेक्ससमा पर्छ। अरू ठाउँभन्दा यही विन्दुबाट अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरू धेरै छन्।

अमेरिकी कंगेसले यही क्षेत्रमा ५३ किलोमिटर नयाँ तारबार लगाउन बजेट विनियोजन गरिसकेको छ। यो नयाँ तारबारको अधिकांश हिस्सा उत्तरतर्फको रियो ग्रान्देमा रहनेछ। रियो ग्रान्देले अमेरिका र मेक्सिकोबीच प्राकृतिक सीमा (जलक्षेत्र)को पनि प्रतिनिधित्व गर्दछ। यस विन्दुबाट अमेरिका प्रवेश गर्नेहरूले शरणका लागि अमेरिकी अधिकारीसमक्ष आवेदन दिन पाउँछन्।

पर्खाल निर्माणको बजेट पारित गर्नेतर्फ राष्ट्रपति ट्रम्प र सिनेट रिपब्लिकनको पछिल्लो प्रस्तावले अमेरिकामा शरण चाहनेका लागि आवेदनलाई अझ कडा बनाउनेछ। प्रस्तावमा शरण दिनुअघि ‘राष्ट्रिय हित’लाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ। अमेरिका आइपुगेका मध्य अमेरिकी बालबालिकाको नामदर्ता गर्दा उनीहरूकै देशको नाम लेखिनेछ, अमेरिका लेखिनेछैन।

अमेरिकन अध्यागमन लयर्स एसोसिएसनका निर्देशक ग्रेग चेनले आफूहरू ऐतिहासिक परिवर्तनको पक्षमा रहेको तर राष्ट्रपतिको प्रस्ताव स्वीकार्य नरहेको बताएका छन्। विपक्षी डेमोक्र्याट पार्टीका वरिष्ठ नेताहरू राष्ट्रपतिको प्रस्तावमा आंशिक सहमत भइसकेका छन्।

रियो ग्रान्दे उपत्यकाको क्याथोलिक च्यारिटीका कार्यकारी निर्देशन सिस्टर नोर्मा पिमेन्टलले संस्थाको शिविरमा आ िश्रत कतिपय आप्रवासी परिवारहरूले गैरकानुनी तरिकाबाटै रियो ग्रान्दे नदी तर्ने चाहना राखेको बताइन्। ‘हामीले सीमा सुरक्षित गर्नुपर्छ भन्नेमा दुईमत छैन र हामीले हाम्रो देशलाई अपराधीबाट पनि सुरक्षित राख्नै पर्छ’, पिमेन्टलले भनिन्। राष्ट्रपति ट्रम्पले निर्दोष आप्रवासीलाई भेट्न आवश्यक रहेको बताउँदै आएकी छन्। ट्रम्पले बालबालिकालाई भेट्नु आवश्यक भएको र ठूलो संख्याका परिवारले संरक्षण र सुरक्षा चाहेको सम्बद्ध अधिकारीले बताएका छन्।

देसी यानिरा सेन्तेनो पनि एल साल्भाडोरबाट भागेको एक महिनापछि अमेरिका–मेक्सिको सीमामा आइपुगेकी थिइन्। केही बदमास समूहले उनकी १५ वर्षीया छोरीलाई धाकधम्की समेत दिएका थिए। सेन्तेनोले भनिन्, ‘एकजना मानव तस्करले पुलको बाटोभन्दा रियो ग्रान्देबाट अमेरिका प्रवेश गर्नु सहज हुने बताएका थिए।’ पुलको बाटो हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई अमेरिकी भन्सार अधिकारीहरूले अनेक दुःख दिएर निवेदन दर्ता नगरिदिने प्रवृत्ति रहेको छ। त्यसै कारण उनले आफू, छोरी र अरू दुईजना ७ र ११ वर्षका बालबच्चाका लागि डुंगा चढ्न प्रतिव्यक्ति २० डलर तिरिन्। नदीमा डुंगा ढलपल गरी विस्तारै चल्दा आफू असाध्यै त्रसित भएको उनले सुनाइन्।

‘त्यतिखेर जीवन र मृत्युको अनुभव भयो’, उनले भनिन्, ‘त्यतिखेर मलाई किन आफ्नो देश छाडेर यहाँ आएँ भन्ने लाग्यो।’ कैयौंले अवैधानिक किसिमबाट नदी तर्न चाहेनन्। उनीहरूले मान्यताप्राप्त बाटोबाटै अमेरिका जान जिद्दी गरिरहेका थिए। दक्षिण टेक्सस र त्यस आसपासका धेरै ठाउँका सीमामा अमेरिकी भन्सार अधिकारीहरूले आप्रवासीको निवेदन प्रशोधन गर्न असाध्यै ढिला गरिदिन्छन्। आवेदन गर्न खोज्ने हजारौं हुन्छन् तर असाध्यै कमको मात्र निवेदन लिइन्छ। त्यसै कारण मानिसहरू पुलमै धर्ना दिएर बस्छन् अथवा मेक्सिकोमा रहेका शिविरमा पालो कुरेर बस्छन्।

‘तपाईंले हामी अमेरिकाका लागि खतरा हौं भन्न सक्नुहुन्न’, भार्गासले भनिन्, ‘हामी यहाँ धैर्यपूर्वक बसिरहेका छौं। यसको मुख्य कारण नै कानुनी तरिकाबाटै सबै कुरा होस् भन्ने हामी पनि चाहन्छौं।’

ट्रम्प प्रशासनका अधिकारीहरू भने अमेरिका प्रवेश गर्ने नाममा आप्रवासीहरूले गैरकानुनी दाबी गरिरहेको तर्क गर्छन्। अध्यागमन अदालतहरूले शरणका लागि चित्तबुझ्दो आधार प्रस्तुत नगरेको भन्दै गत वर्ष करिब ६५ प्रतिशत आप्रवासन मुद्दा खारेज गरिदिएका थिए।

प्रशासनले शरणको अधिकार सीमित गर्न निकै लामो समयदेखि प्रयास गरिरहेको छ। गत वर्ष डिसेम्बरमा एकजना संघीय न्यायाधीशले घरेलु हिंसा पीडितलाई शरण नदिने भन्ने अमेरिकी प्रशासनको नीतिगत परिवर्तनको आदेश उल्ट्याइदिएका थिए। त्यसपछि अमेरिकी गृह सुरक्षा विभागले अमेरिकामा शरणको माग गर्नेहरूलाई मेक्सिकोमै केही समय रोकिन आग्रह गरेको थियो।

सीमामा थुप्रिएका अधिकांश मानिसलाई त्यहाँसम्म आइपुग्न धेरै साता लागेको थियो। हजारौं किलोमिटरको यात्रा गरेका उनीहरूले पैदल हिँडेर वा गाडी भाडामा लिएर अमेरिकाको सीमासम्म आइपुगेका थिए। क्याथोलिक च्यारिटीमा रहेका महिलाहरूले आफूहरूसँग अमेरिका छिर्नुको कुनै विकल्प बाँकी नरहेको बताएका छन्। शिविरमा निराश मुद्रामा भेटिएकी ओर्बेलिनाले मदिरा सेवन गरेर आउने उनका पतिले दिनहुँ रातिराति कुटपिट गर्ने गरेको दुःखेसो पनि सुनाइन्। ‘कहिलेकाहीँ उनले केटाकेटीहरूलाई पनि पिट्ने गर्दथे’, उनले भनिन्, ‘मैले पतिको ज्यादतीका बारेमा प्रहरीकहाँ पनि उजुरी दिएँ। तर प्रहरीमा पतिले उल्टै मैले कुटपिट गरेको बताउँथे। उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेन।’

केही नलनगेपछि ६ महिना लगाएर भाग्ने योजना बनाएको उनले स्पष्ट पारिन्। उनले खुलासा गरिन्, ‘पैसा खोज्न थालेँ। अमेरिकाको क्यालिफोर्नियामा रहेका आमाबुबाले पनि पैसा पठाइदिनुभयो।’ उनी टेक्ससको प्रोग्रेसोको बाटो हुँदै आधिकारिक रूपमा अमेरिका प्रवेश गरेकी छिन्। उनी आमाबाबुसँग चाँडै भेट्न पाइनेमा ढुक्क छिन्। उनी अमेरिकामै पारपाचुकेको निवेदन दिने र अमेरिकी कानुनबमोजिम संरक्षण आदेश लिने योजनामा छिन्।

‘म यहीँ काम गर्ने र छोराछोरी हुर्काउने आशामा छु’, ओर्बेलिनाले भनिन्, ‘म उनीहरू खुशी भएको हेर्न चाहन्छु।’

प्रकाशित मिति: : 2019-02-16 21:52:59

प्रतिकृया दिनुहोस्