मार्च ५ मा मिशन सम्हालेका अमृतले ११ मा मात्र ओहोदाको प्रमाणपत्र बुझाए

तस्वीर: राष्ट्र संघका महासचिवको कार्यालय

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मंगलबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।

उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेर विधिवत रूपमा कार्यभार सुरू गरेका हुन्।

राईले ओहोदाको प्रमाणपत्र नबुझाई मार्च ५ देखि न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगको नेतृत्व सम्हाल्दै आएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्र संघको एक कार्यक्रममा सहभागी हुन न्यूयोर्क आइपुगेकै दिन मात्र ओहोदाको प्रमाणपत्र बुझाउनुलाई संयोग मात्र मान्न नसकिने यसअघि स्थायी नियोग सम्हालिसकेका एक नियोग प्रमुख बताउँछन्।

उनको भनाइमा नेपालले पहिलोपटक सहसचिवस्तरको नियोगप्रमुख नियुक्त गरेकाले कम महत्व पाएकोले पनि यस्तो हुन सक्छ।

परराष्ट्र मन्त्रालयका कनिष्ठ सहसचिवमध्येका राई यसअघि दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूत थिए। सरकारले बीचैमा फिर्ता बोलाएका राईलाई त्यति बेलै यो नयाँ जिम्मेवारी दिने आँकलन गरिएको थियो।

यसअघि पनि राईले न्युयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगमा उपसचिवका रूपमा एक कार्यकाल पूरा गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने राई कनिष्ठ सहसचिव भएर पनि राष्ट्र संघको स्थायी नियोग प्रमुख हुने भाग्यमानी परराष्ट्र अधिकारी हुन्।

स्मरणीय रहोस्, नेपालले पहिलो पटक सहसचिवलाई न्युयोर्कस्थित राष्ट्र संघको स्थायी नियोग प्रमुख बनाएको हो।

अहिले नियोगमा यसअघि कार्यवाहक चलाइरहेका अर्का सहसचिव निर्मलराज काफ्ले पनि छन्। राई नियोग प्रमुख भएर आएपछि उनी उपप्रमुख बनाइएका छन्।

यसअघि सामान्यत: परराष्ट्र सचिव नै राष्ट्र संघको स्थायी नियोग प्रमुख भएर आउने चलन थियो। तर, वर्तमान सचिव शंकर वैरागी मुख्य सचिव हुने दाउमा लागेकाले उनले यो ‘फेयरवेल पद’ लिन नचाहेको बताइन्छ।

वैरागी नआउने भएपछि परराष्ट्रका परम्परा र नियमलाई छल्दै राईलाई दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट दिएर न्युयोर्क गन्तव्य दिइएको हो।

प्रकाशित मिति: : 2019-03-12 09:18:39

प्रतिकृया दिनुहोस्