ट्रम्पलाई डिसेम्बर ४ मा हाजिर हुन संसदको पत्र : जालान् त ?

राष्ट्रपति ट्रम्पका नाममा न्यायिक समितिले वयानका लागि काटेको पत्र ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई वयानका लागि संसदको एउटा समितिले पत्र काटेको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको न्यायिक समितिले उनलाई डिसेम्बर ४ मा हाजिर हुनका लागि पत्र काटेको हो । 

समितिका तर्फबाट सभापति जेरी नाड्लरले पत्र काटेका हुन् । न्युयोर्कबाट संसदमा प्रतिनिधित्व गर्ने उनी वरिष्ठ डेमोक्रेटिक सांसद हुन् ।

अमेरिकी पूर्वीय समयअनुसार विहान १० बजे उनी आफ्ना वकिलका साथ वयानका लागि हाजिर हुनुपर्ने छ।

महाअभियोग प्रक्रियाको दोस्रो चरणमा उनीविरूद्ध चलिरहेको अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पलाई बयानका लागि बोलाइएको हो । 

राष्ट्रपति ट्रम्प आएर यसअघि वयान लिइएका साक्षीहरूलाई प्रतिप्रश्न सोध्न पाउँने छन् । यस क्रममा उनले आफ्नो पक्ष पनि राख्न पाउँने बताइएको छ।

जालान् त राष्ट्रपति ट्रम्प ?

समितिले राष्ट्रपतिले आफ्ना वकिलमार्फत् पनि उपस्थिति जनाउन सक्ने भनेकाले उनी समितिमा सुनुवाइका लागि आउने सम्भावना कम रहेको बताइएको छ । उनले आफ्ना वकिलमार्फत् आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

केही दिन अघिसम्म सुनुवाइलाई 'वीच हन्ट' भन्दै आएका ट्रम्पको पछिल्लो समय अलि चिन्ता बढेको छ । केही साक्षीहरूको वयान उनलाई अप्ठ्यारो पार्ने खालको आएकाले उनको चिन्ता बढेको बताइएको छ। 

ट्रम्पको सुनुवाइको क्रम सकिएपछि तेस्रो चरणमा उनीमाथि औपचारिक रूपमा महाअभियोग लगाउने योजनाका साथ अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा काम भैरहेको अनुमान गरिएको छ । 

अमेरिकी राजनीतिलाई नजिकबाट बुझेका एक राजनीतिक पण्डितले राष्ट्रपति ट्रम्पको यस वर्षको क्रिसमस खल्लो पार्ने किसिमले त्यसको पूर्वसन्ध्यामा उनीमाथि महाअभियोग प्रस्ताव दर्ता हुने भविष्यवाणी गरेका छन्। 

प्रकाशित मिति: : 2019-11-27 07:12:40

प्रतिकृया दिनुहोस्