सुडानी सेनाद्वारा राष्ट्रपति बशिर पदमुक्त भएको घोषणा

Channel NewsAsia

सुडानी सेनाले राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको घोषणा गरेको छ ।

राष्ट्रपति बशिरलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षामन्त्री अवाद इब्नौफले राज्यद्वारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका हुन्।

‘मैले रक्षामन्त्रीको हैसियतमा घोषणा गर्दछु कि यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ,’इब्नौफले भने।

बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म शासन गर्दै आएका थिए। विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि उनलाई अहिले पदमुक्त गरिएको हो ।

सेनाले सैन्य परिषद् गठन गरिएको र दुई वर्षका लागि बशिरलाई हटाइएको पनि स्पष्ट पारेको छ ।

रक्षामन्त्री इब्नौफले देशको हवाई क्षेत्र र सीमा क्षेत्रहरू बन्द गरिएको र अन्तर्राष्ट्रिय आवतजावतमा अर्को सूचना जारी नहुँदासम्म निषेध गरिएको जनाएको छ ।

सेनाले बन्दी बनाइएका सबै राजनीतिक नेतालाई थुनामुक्त गरिदिएको पनि घोषणा गरेको छ ।

देशको शक्तिशाली निकाय मानिएको सुडानी सेनाले बिहिबार सार्वजनिक वक्तव्यमार्फत जनताको पक्षमा उभिएको घोषणा गरेको छ ।

सरकारी सञ्चारमाध्यममार्फत सम्प्रेषित समाचारमा देशभरी रहेका राजनीतिक दलका बन्दी नेताहरूलाई थुनामुक्त गरिदिने घोषणा गरेको उल्लेख छ ।

खार्तुमका हजारौँ बासिन्दा सेनाको मुख्यालय बाहिर विगत छ दिनदेखि धर्नामा बसिरहेका बेला सेनाले बन्दी नेताहरूलाई नियन्त्रणमुक्त गरिदिएको हो ।

प्रदर्शनकारीहरूले बन्दी बनाइएकालाई थुनामुक्त गर्न माग गरिरहेका थिए। उनीहरूको मागअनुसार सेनाले उनीहरूलाई छाडिदिएर प्रदर्शनकारीलाई सहयोग गरेको छ। उनीहरूले राष्ट्रपति बशिरलाई हटाउन माग गर्दै नाराबाजी गरिरहेका थिए ।

खार्तुम अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर राष्ट्रपति बसिरको राजीनामाको माग गर्दै उनीहरूले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका थिए ।

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले सेनाको महत्वपूर्ण घोषणा छिट्टै हुनुपर्ने बताउँदै सैनिक हस्तक्षेप नभए कैयौं व्यक्तिको ज्यान जाने दाबी गरेका थिए ।

सरकारले पाउरोटी र तेलको मूल्य बढाएपछि गत डिसेम्बर १९ बाट शुरु भएको आन्दोलनका क्रममा हालसम्म ४९ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिएका छन् ।

गत शनिबारबाट पुनः चर्चिएको यस विरोध प्रदर्शनमा एकै दिनमा सुरक्षा अधिकारीसहित ११ व्यक्तिको मृत्यु भएपछि सो सङ्ख्या ४९ पुगेको थियो ।

खार्तुम र अन्य शहरमा स्वतन्त्रता, शान्ति र न्याय पुनःस्थापित गर्नुपर्ने आह्वानसहित प्रदर्शन शुरु भएको थियो।

आन्दोलनको क्रममा २२ वटा राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेर नयाँ शासनको माग गरेका थिए ।

पदच्युत भएका बशिर सम्वन्धी मुख्य मुख्य घटनाक्रम

कडा शासकका रूपमा चिनिनु भएका बाशिर जसरी सत्तामा आउनु भयो, बहिर्गमन पनि त्यसरी नै भएको छ ।

सुडानी सेनाद्वारा पदच्युत गरिएका बशिरको शासनकालमा भएका घटनाहरू यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमा समेत हेर्ने गरिएको छ ।

उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएका थिए भने अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ ।

पछिल्लो समयमा झण्डै चार महिनादेखि उनी विरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो। सेनाले अव दुई बर्षमा निर्वाचन गराएर लोकतान्त्रिक प्रक्रिया मार्फत् सत्ता हस्तान्तरण गर्ने जनाएको छ ।

सुडानमा तीस वर्ष शासन गरेका बाशिरको जन्म सन् १९४४ जनवरी १ का दिन ग्रामिण क्षेत्रमा भएको थियो । उनको जन्मस्थल होश बान्नागा सुडानको राजधानी खार्तुमदेखि एक सय किलोमिटर टाढा पर्दछ ।

सन् १९७३ मा सैन्य सेवामा प्रवेश गरेका बाशिरले एक बर्षपछि अरब र इजरायलको युद्वमा इजिप्टको तर्फबाट लडेका थिए।

सन् १९८९, जुन ३० मा उहाँ सुडानी सेनाको ‘व्रिगेड कमाण्डर’ बने। त्यसको लगत्तै उनले निर्वाचनबाट गठित लोकतान्त्रिक सरकारलाई मुश्लिमहरूको सहयोगमा अपदस्त गरेर सत्ता हातमा लिए।

सन् २००३ मा उनले डारफरमा ठूलो संख्यामा सैनिकहरू पठाए। त्यहाँ भएको द्वन्द्वका क्रममा झण्डै तीन लाख जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २००९ मा अन्तर्राष्ट्रिय अपराध अदालतले उनलाई डारफर घटनामा मानवता विरोधी अभियुक्त र युद्व अपराधी भएको फैसला गर्दै पक्राउ गर्न आदेश दियो । अदालतको फैसला र आदेशलाई भने उनले अस्वीकार गर्दै आए।

सन् २०१० मा बहुदलीय व्यवस्थामार्फत् उनी शक्तिमा आएदेखि पहिलो पटक निर्वाचित राष्ट्रपति बने। त्यस निर्वाचनलाई विपक्षीहरूले बहिस्कार गरेका थिए। त्यसपछि सन् २०१५ मा पनि उनी राष्ट्रपतिमा निर्वाचित भए।

सन् २०१३ मा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि सरकारको विरुद्धमा ठूलो प्रदर्शन भयो । त्यस क्रममा दर्जनौ मारिएको अधिकारीहरूले बताएका थिए ।

सन् २०१८ को डिसेम्बरमा पाउरोटीको मुल्य तेब्बर वृद्धि गरेको भन्दै मुल्यबृद्धिका विरुद्धमा देशभरका विभिन्न शहरहरूमा आन्दोलन शुरु भयो । चार महिना सम्म चलेको आन्दोलनमा ४९ जना भन्दा बढीको मृत्यु भयो ।

सन् २०१९ अप्रिल ११ मा सुडानी सेनाले औपचारिक रूपमा बशिरलाई राष्ट्रपतिको जिम्मेबारीबाट हटाएर सत्ता आफूले लिएको घोषणा गर्‍यो।

प्रकाशित मिति: : 2019-04-11 22:59:43

प्रतिकृया दिनुहोस्