केन्यामा लागूऔषध कारोबारको अभियोगमा गिरफ्तार नेपाली रिहा

भारतीय अभिनेत्री किम शर्माका पूर्वपति पुन्जानीकी श्रीमती हुँ भन्छिन् यी नेपाली युवती - सुस्मिता कार्की । तस्बिर : एजेन्सी

केन्याको सामुद्रिक तटमा अवस्थित शहर माम्बासामा लागू औषध कारोबारको आशंकामा पक्राउ परेकी सुस्मिता कार्कीलाई छानविन पछि अदालतले रिहा गरेको छ ।

केन्यामा लागू औषध कारोबारको निम्ति कुख्यात भारतीय मूलका ब्यापारी अलि पुन्जानीको घरबाट गिरफ्तार कार्कीले आफूलाई पुन्जानीकी श्रीमती भएको बताएकी छिन् । माम्बासाको न्यालीमा अवस्थित भब्य बंगालामा पुलिसले छापा मार्दा सँगै पक्राउ परेका शिव प्रसाद वस्याल पनि रिहा भएका छन् ।

नैरोबीमा अवस्थित नेपाली कन्सूलको कार्यालयमा कार्यरत एडिथले ब्रेक एण्ड लिँक्ससँग भनिन्, उनीहरु दुवैजना नेपाली हुन् । तीन दिनको हिरासत पछि उनीहरु पुलिसको निगरानीमा रहने गरी रिहा भएका छन् । उनीहरु सकुशल र सुरक्षित छन् ।

भारतीय अभिनेत्री किम शर्माका पूर्वपति पुन्जानीको आकाश परिवार केन्यामा निकै चर्चित ब्यापारिक घराना हो । भारतीय मूलका यी तीन भाइको पहुँच सरकारको माथिल्लो तहसम्म छ ।

दक्षिण अमेरिकाबाट अफ्रिकामा लागू औषध र हतियारको ओसारपसारको अभियोगमा अमेरिकी गुप्तचर निकाय एफबिआइले यिनका दुई भाइहरु बक्तास र इब्राहिमलाई केन्याबाट पक्रेर अमेरिका लगेकोछ । अमेरिकी जेलमा कैद उनीहरु अदालतको अन्तिम फैसला पर्खेर बसेका छन् ।

अलि पुन्जानी भने मुटुको अपरेशनका लागि भारतमा छन् ।

केन्याका बारमा नेपाली चेलीहरु पुर्याएर बेश्यावृत्तिमा लगाइने गरेको समाचार सार्वजनिक भएपछि नेपाल सरकार र गैरआवासीय नेपाली संघको पहलमा गत महिना मात्रै नैरोबीबाट केही नेपाली चेलीको उद्दार गरिएको थियो ।

प्रकाशित मिति: : 2019-08-16 18:42:42

प्रतिकृया दिनुहोस्