इभर्टनको प्रशिक्षकमा एन्सेलोटी नियुक्त

एन्सेलोटी साढे ८ वर्षपछि प्रिमियर लिग फर्किए

बिएल संवाददाता

काठमाडाैं,पुस ५

इंग्लिस क्लब एभर्टनले कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। 

६० वर्षीय प्रशिक्षक एन्सेलोटीलाई एभर्टनले शनिबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

एभर्टनले एन्सेलोटीसँग साढे चार वर्षको सम्झौता गरेका छन्। इटालियन प्रशिक्षक एन्सेलोटी हालै नापोलीबाट बर्खास्तमा परेका थिए। क्लबलाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुर्राएलगत्तै उनी बर्खास्तीमा परेका थिए।

तीन पटक च्याम्पियन्स लिग जितिसकेका एन्सेलोटी साढे ८ वर्षपछि प्रिमियर लिग फर्किएका हुन्।

उनी जुन २००९ देखि २०११ मेसम्म चेल्सीमा थिए। त्यसपछि पेरिस सेन्ट जर्मेन, रियल मडि्रड, बार्यज म्युनिख हुँदै नापोली पुगेका थिए। अब फेरि प्रिमियर लिग फर्किएका छन्।

मार्को सिल्भालाई बर्खास्त गरेपछि एभर्टन प्रशिक्षक बिहीन रहेको थियो।  पोर्चुगिज प्रशिक्षक सिल्भाले सन् २०१८ मे ३१ मा एभर्टन सम्हालेका थिए। १५ खेल खेलेको एभर्टनले अहिलेसम्म १४ अंकमात्र बनाएको थियो भने तालिकाको १८ औं स्थानमा रहेको छ।

एभर्टनले पछिल्ला ५ खेलमा एक बराबरी, एक जित र तीन हार ब्यहोरेको थियो। 

प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा एभर्टनले आज आर्सनलसँग खेल्दैछ।

 

प्रकाशित मिति: : 2019-12-22 08:21:06

प्रतिकृया दिनुहोस्