पीपीएल: पारसको कप्तानीमा रहेको चितवन उपाधि नजिक

चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल)  क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो।

पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो।

कप्तान ज्ञानेन्द्र मल्लले ४० रन बनाए। यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए।

चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/२ विकेट लिए।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनायो।

चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए।

यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए।

काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए।

 

प्रकाशित मिति: : 2019-12-25 03:43:37

प्रतिकृया दिनुहोस्