नेपाली मुलका हरिदेवी बस्नेतका छोरा हर्षवर्द्धन भारतका नयाँ विदेश सचिव

एजेन्सी

दार्जिलिङ
आमा हरिदेवी बस्नेत, हर्षवर्द्धन, चोकिला ऐय्यर र देछेन बाङ्दी । तस्वीरः टेलिग्राफ

नेपाली मूलकी हरिदेवी बस्नेतका छोरा हर्षवर्द्धन शृङ्ला भारतको नयाँ विदेश सचिव बन्न लागेका छन्। ५७ वर्षीय हर्षवर्द्धनकी आमा हरिदेवी र बुबा छिरिङ तेन्दुफ्ला दुवै दार्जीलिङका नेपाली भाषी हुन्।

दार्जीलिङको मालरोडमा आइभनहो हाउस होटलका सञ्चालकसमेत रहेको तेन्दुप्ला परिवारका हर्षवर्द्धन आगामी जनवरी २० देखि  भारतको ३३ औं विदेश सचिवमा नियुक्त हुँदैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, हर्षवर्द्धनका दिवंगत बुबा छिरिङ भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रकमा सेवानिवृत्त भएका थिए।

हर्षवर्द्धन हाल अमेरिकास्थित भारतीय राजदूत छन्। अमेरिकामा उनी आमा, श्रीमती (हिमाल) र छोरासँगै बसिरहेका छन् ।

‘द टेलिग्राफ’ को अनलाइनअनुसार हर्षवर्द्धन भारतकै प्रथम महिला विदेश सचिव चोकिला ऐय्यरका भतिजा हुन्। दार्जीलिङमै जन्मिएकी ऐय्यर सन् २००१ मा विदेश सचिव नियुक्त भएकी थिइन्।

“चोकिला मेरी सानिमा अनि हर्षवर्द्धन काकाका छोरा हुन्”, दार्जीलिङकी देछेन वाङ्दीले ‘द टेलिग्राफ’सँग भनेकी छन् ।

हर्षवर्द्धनले अजमेर र नयाँ दिल्लीमा अध्ययन गरेका हुन् । सन् १९८४ मा उनी परराष्ट्र सेवामा प्रवेश गरेका उनी यसअघि थाइल्याण्डमा भारतीय राजदूत र बङ्लादेशका लागि भारतीय उच्चायुक्त थिए ।

उनी नेपाल र भूटान हेर्ने भारतीय परराष्ट्र मन्त्रालयको नर्थ डिभिजनका प्रमुख रहिसकेका छन्। मन्त्रालयमा सार्क डिभिजन जिम्मेवारी पनि सम्हालिसकेका छन्।

बङ्लादेशका लागि भारतीय उच्चायुक्त भइसकेका हर्षवर्द्धनको अंग्रेजी र हिन्दीका अतिरिक्त नेपाली, फ्रेञ्च र भियतनामी भाषामा दख्खल छ।

प्रकाशित मिति: : 2019-12-26 05:21:35

प्रतिकृया दिनुहोस्