देशमा अझै चिसो बढ्न सक्ने, काठमाडौंमा दैनिक ७ सय विरामी 

मौसम पूर्वानुमान भरपर्दो नहुँदा र आम नागरिकको पहुँचमा नहुँदा एक्कासी बढ्ने चिसोले तराई र हिमाली जिल्लाका बासिन्दा प्रभावित

अत्याधिक चिसोका कारण राजधानी काठमाडौंमा दैनिक ७ सय विरामी पर्न थालेपछि जल तथा मौसम विज्ञान विभागले ७ दिनसम्मको मौसम पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्दैछ। विभागले हाल ३ दिनसम्मको मात्र मौसम पूर्वानुमान गर्दै आइरहेको छ।

मौसम पूर्वानुमान भरपर्दो नहुँदा र आम नागरिकको पहुँचमा नहुँदा एक्कासी बढ्ने चिसोले तराई र हिमाली जिल्लाका बासिन्दा प्रभावित भएका छन्। 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले मौसम पूर्वानुमानलाई विश्वसनीय र भरपर्दो बनाउन आफूहरू लागि परेको बताइन्। ‘पहिले नै मौसमको विषयमा थाहा भए चिसोबाट बच्ने उपाय अपनाउन सकिन्छ,’ उनले बिएल नेपाली सेवासँग भनिन्। 

हालसम्म मौसमको पूर्वानुमान भए पनि हिमपात बारे पूर्वानुमान गर्ने प्रविधिको विकास भइसकेको छैन। यस्तो अवस्थामा चिसोबाट सचेत रहन उनी सबैलाई अपील गर्छिन्।  

‘हामी चिसो महिनाको मध्यतिर पुगेका छौ। त्यसैले अझै चिसो बढ्न सक्ने सम्भावना छ’, उनले भनिन्।

 अत्याधिक चिसोका कारण तराईमा बढ्ने शीतलहर र हिमाली क्षेत्रमा हुने हिमपातबाट वर्षेनी बढी क्षति हुने गरेको छ। जल तथा मौसम विज्ञान विभागले क्षति न्युनिकरणका लागि विभिन्न प्रविधिको प्रयोगलाई बढावा दिइरहेको उनको भनाई छ। 

हाल एउटै रेडियोसाउन्डबाट वायुमण्डलीय मौसमी अवस्था मापन भएकोमा अन्य ठाउँमा पनि यसको विस्तार गर्न लागिएको उनले बताइन्। ‘अहिले हामी आफ्नै टिभि स्टुडियो संचालनमा ल्याउने तयारीमा छौं। नार्कसँगको सहकार्यमा २८ वटा जिल्लाका लागि कृषि मौसम उपलव्ध गराएको छौं। तर, अब यसको विस्तार गरेरर ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य राखेका छौं,’ उनले भनिन्। 

मौसम पूर्वानुमान कार्यलाई सहज बनाउन ‘वर्क स्टेशन’ खरिद गरि जडान गर्ने कार्य भइरहेको उनको भनाई थियो। उनले भविष्यमा ‘इन्टरयाक्टिभ बेभसाईट’ निर्माण गर्दै मौसमी एपमार्फत सर्वसाधारणलाई हातहातमा मौसमको जानकारी दिने योजना बनाइएको पनि स्पष्ट पारिन्। 

अत्याधिक चिसोका कारण राजधानीमा दैनिक सात सय विरामी पर्न थालेका छन्। अस्पतालका आईसियु तथा मेडिकल वार्ड चिसोका विरामीले भरिएको छ। शिक्षण अस्पताल र सिभिल अस्पतालमा दैनिक आउने विरामी मध्ये ७० प्रतिशत चिसोका छन्।

चिसोको कारण रुघाखोकी, दम, आस्थामा घाँटी खसखस हुने, मस्तिष्क ज्वरो, टाउको दुख्ने, बेहोस हुने, पिनासलगायतको समस्या देखिन्छ। चिसोका कारण दम भएका र स्कुलकलेज पढ्ने विद्यार्थी बढी मात्रामा विरामी पर्ने गरेको चिकित्सक बताउँछन्। 

कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले चिसाको कारण निमोनिया र रोटा भाइरसका विरामी बढेको बताए। भन्छन्, ‘चिसोमा एक वर्षमुनिका बालिबालिका बढी प्रभावित भएका छन्। चिसोबाट बच्न बृद्धबृद्धा र बालबालिकालाई विशेष हेरचाह गर्नुपर्छ।’ 

    
 

प्रकाशित मिति: : 2020-01-01 01:30:44

प्रतिकृया दिनुहोस्