भ्रमण वर्षः ‘राइड टु निजगढ’

रासस

बारा

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बाराको निजगढमा ‘राइड टु निजगढ’ कार्यक्रम भएको छ। नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बारा र होटल तथा पर्यटन व्यवसायी सङ्घको आयोजनामा कार्यक्रम भएको हो।  

‘राइड टु निजगढ’मा करिब ६० वटा साइकल, २०० मोटरसाइकल, पाँच वटा सफारीका साथमा करिब ३०० जनाले सहभागिता जनाएको भ्रमण वर्ष जिल्ला समन्वय समितिका सदस्य महेश्वर अधिकारीले जानकारी दिए। ‘राइड टु निजगढ’ले नगरका १३ वटै वडाको करिब ७० किलोमिटर भ्रमण गरेको छ।  

पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ बजारमा ‘राइड टु निजगढ’लाई परम्परागत रुपमा झाँकी, पञ्चेबाजा, स्काउट र एनसिसीले स्वागत गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ निजगढका उपाध्यक्ष रामकृष्ण घिमिरेले बताए। बारा जिल्ला प्रदेश नम्बर २ कै पर्यटकीय क्षेत्र भएका कारण पनि यस कार्यक्रमले पर्यटन वर्षको महत्व बढेको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले बताए।  

पर्यटन वर्षको शुरुआतस्वरुप निस्किएको साइकलयात्रामा सिमराबाट ३० जनाको टोली निजगढ आएको छ। निजगढको पर्यटकीयस्थलको भ्रमणसँगै आज अमलेखगञ्जमा आयोजना हुने समारोहमा साइकलयात्री सहभागी हुने कार्यक्रम रहेको छ। उता हेटौँडाबाट पनि एक साइकलयात्रीको टोली अमलेखगञ्ज समारोहमा सहभागी हुने भिजिट नेपाल २०२० का प्रदेश सचिवालय सदस्य मोहन शर्मा लामिछानेले बताए।

साइकलयात्रीको स्वागतमा विभिन्न पर्यटन अभियन्ता, प्रदेश सांसद, राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो। अमलेखगञ्जलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने विभिन्न सामग्री प्रदर्शन गरिने कार्यक्रम रहेकोसमेत सचिवालय सदस्य तथा पर्यटन अभियन्ता लामिछानेले बताए।

प्रकाशित मिति: : 2020-01-02 06:26:09

प्रतिकृया दिनुहोस्