’ए’ डिभिजन लिग: उपाधि दाबेदार मनाङ मछिन्द्रसँग बराबरीमा राेकियाे

बराबरीसँगै मनाङ शीर्ष स्थानमा यथावत

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। रोमान्चक बनेको खेलमा मनाङका लागि फेमी जोसुवा र विमल रानाले एक एक गोल गरे। मछिन्द्रका सुजल श्रेष्ठ र सोमिडे एडिलाजाले एक एक गोल गरे।

खेलमा सुरुवाती अग्रता भने मनाङले बनाएको थियो। खेलको दोस्रो मिनेटमा फेमीको गोलमा मनाङले अग्रता बनाएको थियो। उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए। 

पहिलो हाफमा १–० ले पछि परेको मछिन्द्र दोस्रो हाफको सुरुवातमै खेलमा फर्कियो। खेलको ४७ औं मिनेटमा सुजलले गोल गर्दै मछिन्द्रलाई १–१ गोलको बराबरीमा फर्काए।  

मनाङविरुद्ध आक्रामक खेल खेलेको मछिन्द्रले ८१ औं मिनेटमा एडिलाजाको गोलबाट २–१ को अग्रता बनाएको थियो। तर, खेलको ८८ औं मिनेटमा परिवर्तित खेलाडी विमलले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै मनाङलाई हारबाट जोगाए।  

मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ। र, मनाङ शीर्ष स्थानमा यथावत रहेको छ। यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-07 06:45:17

प्रतिकृया दिनुहोस्