उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकियो

राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिँदै आर्मीले शीर्ष स्थानमा दुई अग्रता बनाउने मौका गुमायो।

पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित आर्मीले संकटासँग अंक बाडेको हो। 

खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। दिनेश हेम्जनले क्रसमा उनले उत्कृष्ट डाइभ हेड गोल गरेका थिए। जारी लिगमा नवयुगको यो दोस्रो गोल हो। तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो। 

युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो। जसको फाइदा संकटाले लियो ।

आर्मी १० खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै संकटा बराबरी फर्काउन सफल भयो। खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए। 

खेलको ८० औं मिनेटमा आर्मीका कप्तान भरत खवास नवयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरे। तर, उनी १ मिनेटमै घाइते हुन पुगे।

संकटाका लक्ष्मण रुचालले प्रहार गरेको फ्रि कीक उनको टाउँकोमा लाग्दै लडेका थिए। असहज महशुस गरेपछि खेलाडी र रेफ्री दौडिएर भरतको स्थानमा पुगेका थिए भने तत्कालै मेडिकल टिम र एमबुलेन्सनै मैदान प्रवेश गराइएको थियो। तर, भरत एम्बुलेन्समा भने चढेनन्। उनी हिँडेर मैदान बाहिर गएका थिए। 

त्यसपछि शुरु भएको खेलमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा र आर्मीले एक एक अंक बाँढे ।

संकटासँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ। समान खेलमा समान अंक जोडेको मछिन्द्र फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ।  संकटाले ६ खेलमा ८ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ।
यो सँगै छैटौ चरणका खेलहरू सकिएका छन्।

प्रकाशित मिति: : 2020-01-14 23:53:08

प्रतिकृया दिनुहोस्