त्यो दिन नआउला भन्न सकिदैन

सन २०१९ को विदाई भएर २०२० को आगमन भइसकेको छ। अनवरत रुपले वितिरहेकै हुन्छ समय। ओझेल पर्दै गएको समयले कहिले काहीँ मस्तिष्कमा एउटा छाप छोडेर गैदिन्छ। र त बारम्बार सम्झिन वाध्य तुल्याइ दिन्छ। २०१९ जुलाई १४ तारिखको दिन टेक्सासमा रहेको नेपाली मन्दिरको परिसर वालवालिका र अविभावकले भरिभराउ थियो। भीडभाडलाई व्यवस्थित गर्न र गाडीको पार्किङ व्यवस्थापन गर्न आयोजकहरुलाई हम्मे हम्मे परिरहेको देखिन्थ्यो। स्वयमसेवकहरुले बेला बेलामा माइकको साहरा लिएको पाइन्थ्यो।  दिउँसो १२ बजेतिर भगवान् शिवको आरती हुने समय भन्दा करीव १५ मिनेट अगावै छोटो कद भएका एकजना ब्यक्ति मन्दिर भित्र प्रवेश गछर्न।

नमस्ते गर्नेको भिड र शिर झुकाएर नेपाली पारामा ढोग्नेको बीचमा कुर्ता सुरुवाल लगाएका छोटोकदका ब्यक्ति थिए तिनै डा. चिन्तामणी योगी। उक्त कुरा पछि परिचयको क्रममा खुल्न गयो। उनी हरेक वर्ष नेपालदेखि टेक्साससम्मको यात्रा गर्दै आएका छन। उनी नेपालीमूलका प्रवासमा हुर्केका नानीबाबुहरुलाई नेपालसँग जोड्नका लागी हरेक वर्ष करिव दुई हप्ता समरक्याम कार्यक्रमलाई सहारा बनाइ रहेकाछन्। उनको यस पटकको यात्राको उद्देश्य पनि यही थियो। जसलाई नेपाली समुदायको ठूलो साथ र सहयोग रहन गएकोछ।

दुई हप्ताको समरक्याम्पको छोटो अवधीमा नानीबाबुलाई नेपालसँग पुरै जोड्न त के सकिन्थ्यो र ? तर पनि उनीहरुका भावनालाई नेपालआमा प्रेमी बनाउन र नेपाल बारे जान्ने उत्प्रेरणाजगाउन नेपालको ईतिहास, भूगोल, घर्म, संस्कृति, भाषा, कला, नृत्य(सँगीतका साथै ध्यान तथा योगाभ्यासका बिषयबस्तु समाबेश भएको समष्टिगत प्याकेजको कार्यक्रम नेपाली समाजले पस्कदै आएकोछ। 

नेपालीहरुले चासोका साथ लिएको र मनै देखि सहयोग गरेकोले होला हरेक वर्ष २०० जना भन्दा बढी बालबालीकाहरुले क्याम्पबाट दिक्षा लिइरहेका छन। निर्दिष्ट दैनिक क्रियाकलापसँगै नानीबाबुहरु अगाडीका गलैंचामा बसेर सहभागीता देखाई रहेका हुन्छन् भने पछाडीका गलैचामा नेपालबाट आउनु भएका उनीहरुका अविभावक बुवा आमा हजुरबा हजुरआमाहरुले नियालेर हेरिरहेका हुन्छन्। जसमा १०(१५ जना पाका हजुरआमाहरुले आफ्ना नातिनातीनाहरुका क्रियाकलापहरु हेर्ने र समय समयमा नेपाली भजन, गीतमा साथ दिइरहेको देखेर नानीबाबुहरु पनि उत्साहित भैरहेका हुन्छन।      

गत वर्षको क्याम्पको तेस्रो दिन बालबालीकाहरु दिउँसो बाह्र बजेको खाना खाइरहेका थिए। एकजना करिव सत्तरी वर्षको हाराहारीको हजुरआमाले म नजिकै आएर बाबु ! बाबु ! भनेर बोलाउनु भयो। मैले हजुर भन्दै आमालाई सम्बोधन फर्काउँदै खाना खानु भयो भनी सोधेँ। आमाले म त बाहिरको खाना खान्न बाबु केही बेर पछि फलफूल खाउला भन्नु भयो।

यति कुरा भैसकेपछि पनि हजुरआमा त्यही नै उभिराख्नु भयो। मैले आमा केही थियो कि भनी फेरी सोधेँ। आमाले औंला तेस्र्याउँदै परको नानीलाई देखाउँदै भन्नु भयो –“यी नानी मेरो छेउमा आएर खाली रोएर मात्र थाल्छिन्, केही खान पनि मान्दिनन्। मैलै जवरजस्ती दुई गाँस फकाएर खुवाएँ। खानै मान्दिनन्। मात्र मलाई अँगालो हालेर रुन थाल्छिन।’

 म र ती आमा उनी भए नजिकै गयौं। ती अबोध करिव सात वर्षे नानी थिइन। मैले बिस्तारै स्नेहिल पाराले सोधेँ– “तिम्रो नाम के नानु ?” उनले नेपालीमै जवाफ दिइन–श्रृर्जना। कति ज्ञानी रहिछन् के के खायौ छोरी ? प्रश्न सोधेको मात्र के थिए फेरी तिनै हजुरआमाको साडीको फेर सामातेर रुन थालिन।

मैले किन रोएको नानु ? “ग्य्रान्डमाको माया लाग्यो ” – अंग्रेजी नेपाली मिस्यार फेरि बोलेँ म। जसले उनलाई सम्झिन सजिलो बनाएछ। उनले टाउको हल्लाइन।

 “होयर ईज ईओर ग्य्राण्डमा नानु ?” – फेरि प्रश्न गरेँ। उनले नेपाल भन्दै बरर आँसु झारिन र भनिन्– “सी ईज लाईक हर”। हातको औंला तेस्र्याउँदै फेरि तिनै हजुरआमालाई देखाइन। नभन्दै हजुरआमा देखेर झनै भाबुक बन्दै उनैले खुवाए मात्र खाना खाने भइन।   

यो एक बाध्यता र परिस्थितिले जन्माएको परिवेशको परिणाम आफ्नै आँखा अगाडी छछल्किदा मेरो पनि मन रुन थाल्यो। जसलाई मैलै स्वीकार गर्नु भन्दा अर्को विकल्प थिएन। जसबाट मेरा म भित्रका संवेदनाका तरंगहरुले पुरै दिमाग नै तरङ्गित बनाई सोच्न बाध्य तुल्याइरह्यो।

 एकाएक म पनि त्यो जन्मेको हुर्केको गाउँ र तिनै फाँटलाई सम्झिन पुगेछु।मात्र फरक यति थियो कि श्रृजना नानीले टाढाको हजुरआमालाई सधैं सम्झे जस्तै मैले मेरो गाँउ र देश सम्झेँ। यहाँ केहीलाई अझै दिवाभ्रम हुन सक्छ। पराई देशमा सुख सयलमा बितेका दिनले जन्मभूमिलाई बिर्साई रहेकोछ भन्ने। धैरैले आरोप सहनु परेको छ श्रृजनाले हजुरआमालाई माया गर्दिनन् भन्ने भ्रम जस्तै। तर यी अबोध नानीहरुको भित्री पीडा र उनीहरुको अपार मायासँग यो दुनियाँमा कुनै पनि मूल्य भेटाउन सकिदैन।

यसै बीच साथीसँग श्रृजना नानीको घटना र पराइभूमिमा रहेका यस्तै तमाम नानीहरुलाई जडनको काम गरी नेपालसँग हाम्रो सामिप्यता महसुस गराउन नेपाली पाठशाला, समर क्याम्पका क्रियाकलाप र नेपालीहरुले दुःख गरेर प्रवासमा बनाएका पशुपतिनाथ,बुध्द आदि भगवानका मन्दिरहरु आफैमा एक महान थालनी भन्दै छलफल ग¥यौ। यसै समयमा पर टाढाको गलैंचाबाट उनै हजुरआमाले पुलुक्क ती श्रृजना नानीलाई हाँस्दै हेर्नु भयो। श्रृजना पनि मुस्कुक्क मुस्काइदिईन। उनीहरु माझको सामिप्यताको गहिराई झनै बढेको देखिन्थ्यो।

यो समिप्यता भन्ने चिजको पनि एक आफ्नै स्वरुप हुँदो रहेछ। जसले बाल मस्तिष्कमा ठुलो असर पार्छ भन्ने ज्ञान मनोबैज्ञानिक बल्वे (Bowlby)को अनुसन्धानमा पढेको थिए तर आज यहाँ पुरै देखियो। वालबालिका कस्तो परिवेशमा हुर्केका छन, त्यसैको नतिजावाट उनीहरुमा आफु भित्रको “म” र सामाजिक, सम्बेगात्मक, मानसिक पक्षहरुको विकास हुन जाने हुन्छ  भन्ने उनको ठहरलाई मैलै एक किसिमले यहाँ महशुस गरे।

यो श्रृजनामा घटेको एक सानो घट्ना मात्रै होइन। हामी नेपालबाट बिदेश होस वा गाँउबाट शहर पस्दा हजारौ श्रृजनाहरुले भोगेको पीडा हो। नानीहरुले सबैभन्दा माया गर्ने हजुरवा हजुरआमासँगको बिछोडको बेदना हो।

मेरो प्रश्नको जवाफ म आफै भित्र खोज्न थालेँ र उनै मनोबैज्ञानिक बल्वे (Bowlby) को  अनुसन्धान तिर फेरि फर्केँ, जसमा उनले भनेका छन् – वालबालिकाहरु समाजमा धुलमिल नहुने, अस्थिर ब्यबहार र भावना देखाउने, अरुसँग अन्तरक्रिया गर्न नमान्ने, भनेको नटेर्ने लगायतका समस्याको जड नै वाल उमेरमा हुर्कदा नजिकको व्यक्तीसँग हुनु पर्ने भावनात्मक सह(सम्वन्धको भूमिका हुन्छ। उक्त भनाइ श्रृजनाको कठिन हुर्काइ विचको बेमेलले मन बेचैन भयो। श्रृजनाको लागि नेपालमा रहेकी उनकी हजुरआमा वालसखा थिइन जोसँग उनले आफु सधैं सुरक्षित र आनन्दित महसुस गर्थिन तर अहिले उनी यसबाट वञ्चित भएको परिस्थितीले मन दुखायो।

आज उनीसँग आईप्याड, धेरै खेलौना, मिठा मिठा परिकार छन तर उनको नजिकको नाता जोसँग प्रारम्भिक समय बिताइन, त्यो छैन। यस किसिमको बिछोडको छटपटीबाट उनीहरुमा असिमित कुन्ठा र पिडाहरु भएको मैलै एक बालक भित्र सजिलै पढ्ने अवसर पाएँ।

हामीले प्रवासमा धेरै चाहेर पनि गर्न सक्दैनौं। तर हाम्रा धेरै श्रृजनाहरु जो यस किसिमको  परिस्थितिबाट हुर्कन बाध्य छन, तिनीहरुलाई नेपालमा रहेका हजुरआमा र हजुरबासँग जोड्ने प्रयास गराउन सक्नु पर्छ। नेपाल आमासँग जोड्न सक्नु पर्छ। जसमा केवल नानीबाबुलाई नेपाली  भाषा, कला, संस्कृति सिकाइदिएर दिनको दश पन्ध्र मिनेट नेपालमा रहेका हजुरबा, हजुरआमासँग कुरा गराउन सकेको खण्डमा पुरा हुन सक्छ भन्ने ज्ञान श्रृजनाले दिइन। यहाँ कयौले स(साना घरासी सामान्य समस्याका कारणले यो काम गर्न सकिरहेको देखिदैन भने कसैले यसलाई बुझेर पनि आवश्यकता ठानेको देखिदैन। अचानोको पिडा खुकुरीलाई हुँदैन भने झै यस किसिमको पिडाको मारमा हाम्रा धेरै श्रृजना परेका छन। यस पिडा भित्र श्रृजनाको पिडा लुकेको देखिन्छ। त्यो स्वयमका बुबा आमाका कारणले सिर्जीत पिडा रहेछ।

संयोगवस केही दिन पछि श्रृजनाका बुवासँग कुरा गर्ने मौका मिल्यो। यहाँ दोष श्रृजनाको  केही पनि छैन। कलिलो पाँच वर्षको उमेरमा नेपालवाट प्रवास पु¥याउने बाआमा नै दोषी रहेछन्। झनै ती हजुरआमा जसले श्रृजनाको मायालाई सम्हाल्नका लागि उनको वालकालमा साथै हुनु पथ्र्यो नभए कमसेकम हरेक दिन मेसेन्जरको लाइभमा भए पनि कुरा गर्नु सक्नु पथ्र्यो। त्यो नभएको करिव एक वर्ष भैसकेको रहेछ। श्रृजनाकी आमाले अमेरीका आएपछि नेपालमा रहेकी हजुरआमासँग घरायसी चिसोपनले बोलचाल बन्द गरेकि रहिछिन। यसको प्रभावबाट एक वालिकाले आफ्नो वाल्यकालको सहयोगी नजिकको साथी हजुरआमासँगको सम्वन्धबाट टाढिनु परेको रहेछ।

त्यो सानो बालमस्तिष्कलाई के थाहा घरको कुरा। उनले त हजुरआमाको स्वरुप पनि भुल्न थालिसकेकी थिइन। उनलाई पाको उमेरका सबै आफ्ना हजुर आमाका जस्तै आकृतिका लाग्छन् रे। बुझ्नु पर्ने उनका आमा(बुवाले हो। तर निर्दयीता भनौ बा अबुझ बनेको अविभावकत्वका सामु के नै लाग्दो रहेछ र ? श्रृजनालाई वाल्यकालमा तोतेबोली सिकाउने, खुवाउने हजुरआमा मात्र सपनामा सिमित हुन पुगेकी छन्। सपनामा पनि कहिलेसम्म देखिने हो उनको तस्वीर ?

यो एक काल्पनिक नभएर वास्तविक परिदृश्य थियो। यो प्रवासभित्र नेपाल आमाको माया खोज्नेहरुको भविष्यसँग गाँसिएको चुनौती हो। जसलाई नेपाल  सरकार र गैरआवासीय नेपाली संधले समय मै सचेतता अपनाउनु जरुरी छ। नेपालका केही उपबुज्रुक गलत राष्ट्रवादी नायकको प्रवासप्रतिको हेराइ र यसरी नै नेपालसँगको सम्बन्ध टुटाउँदै लैजाने श्रृजनाका बुवाआमाहरुको सोचाइबाट भोलिका दिनमा नेपालसँगको नाताको सहजै अडकल लगाउन सकिन्छ।  नेपालआमाका खातिर, नेपाली बंश र रगतका खातिर अनि विश्वमाझमा हाम्रो पहिचानको लागि नेपालसँग भावी(पुस्तालाई जोडौं। उग्रराष्ट्रवादको खोलवाट निस्केर आफ्ना भाइबहिनी र नेपाल आमाका सन्ततिलाई माया गरौं। हैन भने जडन टुट्दै गएमा, मनमुटु दुख्दै गएमा  हाम्रो भाविपुस्ता नेपालबाट झनै टाढिनेछ जसमा दोशी अहिलेको पुस्ता हुनेछ। साथै यदि हामीले हाम्रा नानीबाबुहरुलाई नेपाली भाषा, कला, संस्कृति आदीसँग जोड्न सकेनौ र नेपालमा रहेका अग्रजसँग उनीहरुलाई मिस्याउन सकेनौं भने भोलिका दिनमा यी नानीहरुमा न त नेपाली संस्कार र संस्कृति देख्नेछौ न त यीनीहरु नेपाली सन्तति रहनेछन्। यस्तै हे भने त्यो दिन नआउला भन्न सकिँदैन जुन दिन हामीले पछुताउँदै भन्नु पर्ने हुनेछ – न संस्कृति रह्यो न त सन्तति नै।

प्रकाशित मिति: : 2020-01-21 06:47:00

प्रतिकृया दिनुहोस्