इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई साढे १३ वर्ष जेलसजाय

एजेन्सी

काठमाडाै‌ं

घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई जेलसजाय सुनाइएको छ। भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकारेका छन्। उनले आरोप स्विकार गरेसँगै चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेल सजाय सुनाएको छ। तिआन्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ। अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन्।

मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए। इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो।

तर इन्टर्पोलका अनुसार मङ हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले राजीनामा दिए। पछि अक्टोबरमा चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ गरिएको पुष्टि गरे। घुस लिएको अभियोगमा उनीमाथि छानबिन भइरहेको अधिकारीहरूले बताए।

मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको निकै खर्चाल जीवनशैलीका लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।

अदालतमा सुनुवाइका क्रममा गत वर्ष मङले गल्ती अस्वीकार गरेका थिए। हाल फ्रान्समा राजनीतिक शरण लिइरहेकी मङकी श्रीमतीले उनीमाथि लगाइएका आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको बताएकी छन्।

भ्रष्टाचार विरुद्धको चिनियाँ राष्ट्रपति सीको अभियान उनका कतिपय राजनीतिक प्रतिद्वन्द्वीहरूको आवाज दबाउने कार्यका लागि समेत प्रयोग गर्ने गरिएको आलोचकहरू बताउँछन्।

प्रकाशित मिति: : 2020-01-22 05:47:53

प्रतिकृया दिनुहोस्