दलित भएकै कारण कुनै बेला सभासद दुर्गा बिकले बेञ्चकाे डिलमा बस्नु पर्थ्याे (भिडियो)

दुर्गा बिक विगत २२ वर्षदेखि विभेद र कुरितीविरूद्ध लडिरहेकी छिन्। तर, अहिले कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि सुदूरपश्चिमको जिल्लामा जातिय तथा महिला विभेद उस्तै छ। 

अछाम जिल्लाको दूर्गम गाउँमा दलित परिवारमा जन्मिएर प्रदेश सभा सदस्यको रुपमा चर्चा कमाएकी महिला सांसद हुन्, दुर्गा बिक। जो विगत २२ वर्षदेखि विभेद र कुरितीविरूद्ध लडिरहेकी छिन्। तर, अहिले कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि सुदूरपश्चिमको जिल्लामा जातिय तथा महिला विभेद उस्तै छ। 

छोराको आशमा धेरै छोरी जन्मिने समाजमा हुर्किएकी दुर्गाको भाईबहिनी नै नौ जना थिए। उनी कक्षा ८ पढदै गर्दा बुवा बिते। यसपछि सम्पूर्ण घर परिवारलाई पाल्ने र पढाउने जिम्मा उनको थाप्लोमा आइपुग्यो। काम गर्दै पढ्दै स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी कैयौं सामाजिक कुरितीकाे सिकार भइन्।

सुदूरको अछाम जिल्लास्थित विनायक गाउँपालिकाको एउटा गाउँमा हुर्किएकी बिक कक्षा ५ पढ्दै गर्दा जातिय बिभेदको सिकार भएकी थिइन।  ‘मलाई सानैदेखि लाग्थ्यो। मान्छे भएर पनि मान्छेसँग किन यस्तो व्यवहार हुन्छ?’ उनी भन्छिन्। स्कुल पढ्दा कक्षा कोठामा अघिल्लो पट्टिको बेन्चमा छात्रालाई बस्ने बन्दोबस्ती मिलाइएको हुन्थ्यो। सबै अघिल्लो लाइनमा बस्थे। तर, दलित भएका कारण उनले बेन्चको डिलमा अरुले नछुने गरि छुट्टै बस्नु पर्थ्याे।

‘मैले बेन्चमा राम्रोसँग कहिल्यै बस्न पाइन। बेन्चको डिलमा बस्दा एक खुट्टा टेकेर दिनभरि कुनामा बस्नु पर्थ्याे। ढाड दुखेर हैरान हुईन्थ्यो,’ उनले पुरानो कुरा बताइन्। सामाजिक र राजनीति क्षेत्रमा निकै सक्रिय बिकलाई यति चाँडै प्रदेश सभा सदस्य हुन्छु भन्ने लागेको थिएन।

यसपालिको स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेको तर्फबाट उनलाई नगर उपप्रमुखको प्रस्ताव भएको थियो। तर, उनले नगरप्रमुख भए मात्र निर्वाचन लड्ने नभए नलड्ने भन्दै अडान राखिन्। बिक महिलामा महिनावारी नभए श्रृष्टीको सबै पक्ष अवरुद्ध हुने बताउँछिन्। तर, महिनावारीलाई प्रथाको रुपमा हेर्दा महिलाको स्थिति भयावह भएको बताउँछिन्। 

‘म १५ वर्षको हुँदा पहिलो पटक महिनावारी भएको थिए। यति बेला छाउगोठमा बसेकी थिए तर त्यस पछिको समय कहिल्यै बस्नु परेन्,’ उनले भनिन्। उनमा पहिलेदेखि नै सामाजिक कुरितीविरुद्ध चेतना थियो।

विनायक गाउँपालिकामा  एउटा मन्दिर छ। जहाँ महिला जानु हुदैन भन्थे। तर बिक एक त महिला, त्यसमा पनि दलित परिवारमा हुर्केकी।उनी समाजले बनाएकाे अन्धविश्वासलाई चिर्दै मन्दिर गइन्। भन्छिन्–‘ खै अहिलेसम्म अनिष्ट भएकाे छैन। याे सबै समाजले बनाएकाे अन्धविश्वास त रहेछ। विभेद गर्न।’ 


 

प्रकाशित मिति: : 2020-01-22 08:15:06

प्रतिकृया दिनुहोस्