फ्रान्सका राष्ट्रपति इजरायल भ्रमणमा

एजेन्सी

काठमाडाैं

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले बुधबार इजरायलको भ्रमण शुरु गरेका छन्।

उनले भ्रमणको पहिलो दिनमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता पनि गरेको जनाइएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रपति म्याक्रोनलाई प्रधानमन्त्री नेतान्याहु र उहाँकी श्रीमतीले संयुक्त रुपमा स्वागत गरेका थिए।

उनीहरुका बीचमा जेरुसेलमस्थित इजरायली प्रधानमन्त्रीको निवासमा भेटवार्ता भएको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा लेखिएको छ, ‘उहाँ (फ्रान्सेली राष्ट्रपति म्याक्रोन) र प्रधानमन्त्री नेतान्याहुले खानासहितको भेटवार्ता गर्नुभएको हो।’ 

उनीहरुले इरान र प्यालेस्टायनसँग सम्बन्धित विषयमा कुराकानी गर्नुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन्। 

म्याक्रोनले इजरायली विपक्षी दलका नेता बेन्नी गान्टज, प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बासलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोन इजरायलको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति अवतरण भएका थिए।
 

प्रकाशित मिति: : 2020-01-23 10:36:13

प्रतिकृया दिनुहोस्