जर्मन बुण्डेस लिगामा नर्वेका फरवार्ड अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखेका छन्। बोरुसिया डर्टमुण्डबाट खेल्दै आएका नेदरल्याण्डसका १९ वर्षे हाल्याण्डले लिगामा दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
डर्टमण्डले १९ वर्षीय फरवार्ड हालाण्डलाई अष्ट्रियन क्लब रेड्बुल साल्जबर्गबाट क्लबमा भित्र्याएको हो।
हालाण्डलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समेत कोशिश गरेको थियो। तर, युनाइटेडलाई पछि पार्दै डर्टमण्ड हालाण्ड अनुबन्ध गर्न सफल भएको हो।
डर्टमण्डले हालाण्डसँग पाँच वर्षे सम्झौता गरेको छ। सम्झौतासँगै हालाण्ड सन् २०२४ सम्म डर्टमण्डमा रहने छन्।
गएको हप्ता ५६ औं मिनेटमा रिप्लेसमेन्टको रुपमा मैदान छिरेर बुण्डेस लिगामा डेब्यु गरेका उनले औग्सबर्गसँगको खेलमा ह्याट्रिक गरेका थिए।
हालाण्डले खेलको ५९,७० र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। उक्त खेलमा डर्टमण्डले ५–३ गोल अन्तरले विजयी भएका थिए।
त्यसपछि उनले शुक्रबार राति भएको खेलमा थप दुई गोल गरे। घरेलु मैदानमा भएको खेलमा उनको दुई गोलको सहयोगमा बोरुसिया डर्टमुण्डले एफसी कोल्नलाई ५–१ ले पराजित गरेको हो।
हाल्याण्डले ७७ र ८७ औं मिनेटमा गोल गरे। त्यसअघि गुएइरोले पहिलो मिनेट, रेउसले २९ औं तथा सान्चोले ४८ औं मिनेटमा गोल गरेका थिए। एफसी कोल्नका लागि ६४ औं मिनेटमा उथले एक गोल फर्काए।
हाल्याण्ड यहि महिना रेड बुल साल्ज्बर्गबाट बोरुसिया आएका हुन्। यो सिजनको आधा समयमा रेड बुलका लागि २२ खेलमा २८ गोल गरे। यसमध्ये च्याम्पियन्स लिगका ६ खेलमा ८ गोल समावेश छन्।
डर्टमण्डले हाल लिगमा १९ खेलमा ३६ अंक जोडेको छ। डर्टमण्ड तेस्रो स्थानमा रहेको छ।
लिगमा शीर्ष स्थानको आरबी लिपजिगको ४० अंक रहदा दोस्रो स्थानको वायर्न म्युनिखको ३६ अंक रहेको छ।
१९ खेलमा २० अंक जोडेको कोल्न १३ औं स्थानमा रहेको छ।