इङ्गेजमेन्ट

मेरो दिनचर्या निकै व्यस्त थियो। दिनभरी पढाउने काममा व्यस्त रहन्थेँ। बेलुकाको समय फेसबुकलाई छुट्याईदिएकी थिएँ। खाना खाएर सुत्ने समयमा मलाई फेसबुक नखोली चित्तै बुझ्थेन। त्यसदिन पनि मैले त्यसैगरी फेसबुक खोलेँ।  टन्नै फ्रेन्ड रिक्वेस्ट थिए। मेरो आँखा रातो सर्टमा कालो चश्मा लगाएको एउटा प्रोफाईल पिक्चरले तान्यो।

अमित शर्मा नाम रहेको त्यो रिक्वेस्टलाई मैले एसेप्ट गरिदिएँ। रिक्वेस्ट एसेप्ट गर्नासाथ उताबाट म्यासेज आयो- ‘हेलो, हाउ आर यू’! मलाई के खोज्छस् कानो आँखो भने झैं भयो। मैले अबेर नगरी कुरा गर्न थालेँ। बोल्दा बोल्दै अमित र म एकअर्कामा एकैछिनमै नजिकियौं।

सबै कुराले सम्पन्न भए पनि साथ दिने र मन मिल्ने साथी कोही थिएन। त्यसैले पनि म कुनै न कुनै बहानामा कुनै साथीको प्रतीक्षामा हुन्थेँ। अमितसँग कुरा हुन थालेदेखि मैले आफ्नो जीवनमा केही खुशीको महसुस गरिरहेकी थिएँ। अमितले मलाई मन पराएको संकेत दिइसकेको थियो।

समय बित्दै गयो, फेसबुकबाट सुरू भएको हाम्रो सम्बन्ध फोन हुँदै भेट्ने निर्णयमा पुग्यो। व्यस्त दिनचार्याको कारण शनिबार बाहेक अरु दिन मलाई फुर्सद पनि हुन्थेन। मनभरी अमितलाई भेट्ने अथाह चाहना हुँदाहुँदै पनि शनिबारसम्म पर्खनुबाहेक अरु विकल्प थिएन।

शनिबार आउन ५ दिन बाँकि थियो। त्यो ५ दिन मलाई ५ महिना जत्तिकै भयो। धेरै मुस्किलले कटे मेरा ५ दिन। अन्ततः शनिबार आयो। मैले अमितलाई भेट्नको लागि पर्खेको शनिबार। झम्सीखेलको एउटा नाम चलेको क्याफेमा अमितले मलाई बोलायो।

म एकदमै हतारिएकी थिएँ, उसलाई भेट्न। पहिलो पटक म कोही केटालाई त्यसरी भेट्न जाँदै थिएँ। क्याफेमा पुगेर मैले अमितलाई फोन गरेँ। अमित फोनमा कुरा गर्दै आईरहेको देख्दा मलाई ठ्म्याउन गाह्रो परेन। तर, अमित जति जति मेरो नजिक आउँदै थियो त्यति त्यति मलाई रिंगटा लागिरहेको थियो। दिक्क लागिरहेको थियो।

अमित मैले फेसबुकमा देखेजस्तो राम्रो थिएन। होचो कद र बेलुनमा हावा भरेर फुले झैं फुलेको पेट। अहो! एक मनले त त्यहाँबाट सरासर केही नबोली भागौं झै भयो मलाई। तै पनि आफूभित्रको अमितप्रतिको प्रेमले मलाई त्यसो गर्न दिएन।

हाम्रो पहिलो भेट निकै लामो भयो। एक अर्कासँग गफ गर्ने क्रममा अमितले भन्यो, ‘तृप्ती, मैले तिमीलाई एकदम जरूरि कुरा भन्नु छ। जुन मैले लुकाउन चाहिनँ। म एक विवाहित पुरूष हुँ, तर मेरी श्रीमतीको र्दुघटनामा मृत्यु भयो। मेरो एउटा छोरा पनि छ। म अहिले साथीको खोजीमा छु। त्यसैले तिमीलाई भेट्न आएको।’

अमितलाई देखेर मलाई जति दिक्क लागेको थियो त्यो भन्दा दिक्क त उसको कुरा सुनेर लाग्यो। कति स्वार्थी हुन्छन् पुरूष आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन्। यस्तै यस्तै सोच्दै थिएँ। अमित आफ्नो जीवनगाथा सुनाईरहेको थियो।

अमितले कुरैकुरामा फेरि भन्यो। ‘म तिमीलाई कुनै कुराको कमी हुन दिन्नँ, हामी मिलेर बसौं।’ एक मनले त म  अमितको कुरासँग राजी भईसकेकी थिएँ भने अर्को मनले घरमा के भनेर कुरा गरौं भन्ने मैले सोच्न सकीरहेकी थिईनँ।

घरमा कहिले केही कुरा नलुकाउने मैले यसपटक पनि केही कुरा नलुकाई सबै बुवाआमालाई सुनाएँ। मेरो कुरा सुनेर बुवाले झोकिदैं भन्नुभयो। ‘कुल घरान के हो कस्तो केटा हो त्यसै हावाको भरमा लागेर हुन्छ?’ त्यसमाथि पनि विवाहित केटा भनेपछि  बुवाको मन चसक्क भयो। तै पनि छोरीको खुशीको अगाडि उहाँको केही लागेन।

बुवाले भोलिपल्ट अमितलाई घरमा खाना खान बोलाउने आदेश दिनुभयो। मैले खुशी हुँदै अमितलाई फोन गरेर यी सबैकुरा सुनाएँ ।

भोलिपल्ट म निकै खुशी भएँ , किनकी पहिलोपल्ट अमित मेरो घर आउँदै थियो। अमितको स्वागत सत्कारमा केही बाँकी राख्नुभएन बुवा र आमाले।

अमितले घरमा आएर आफ्नो विगतको बारेमा सबै कुरा बतायो बुवाआमालाई। धनगढीको केटा, घरपरिवार सबैबाट टाढा बसेर दुःख गर्दै गरेको देखेर पक्कै पनि यो केटाले मेरो छोरीलाई पाल्छ भन्ने विश्वास मेरो बुवामा थियो। मेरो बुवाआमासँगको  चिनजानपछि अमित हाम्रो घरमा दिनहुँ जसो आउन थाल्यो।

अमित पनि कहिले महंगो कहिले सस्तो उपहार लिएर हामीकहाँ टुप्लुकिन्थ्यो। ‘बुवा, मुवा हजुरहरुको म छोरा हुँ मलाई सधैं हजुरहरुको अशिर्वादको खाँचो छ,’ अमित सधैं यस्तै भनिरहन्थ्यो। अमितको घरमा छोरा भए पनि अमितको त्यो मिठो बोलीकै कारण अमित र मेरो विवाह गराउन राजी भईसक्नुभएको थियो बुवा र आमा। त्यसमा पनि पहिलो श्रीमतीको मृत्यु भएको कुराले उहाँहरु झन् दया भाव राख्नुहुन्थ्यो अमितप्रति।

समय आफ्नै गतिमा चल्दै गयो। अमित मलाई दिनमा छ/सात पटक फोन गर्थ्यो। खाएको नखाएको विचार गथ्र्यो। मलाई कतै जानुपर्दा पुर्‍याईदिन्थ्यो। यो देखेर म आफूलाई एकदम भाग्यमानी ठान्थेँ।

एकदिन म कामबाट फर्किदै थिएँ,  अचानक अमितले फोन गर्‍यो। अमितको आवाजमा चिन्ता मिसिएको थियो। ‘तृप्ती एउटा जरूरी कुरा गर्नुछ एकपटक भेटौं न,’ सधैं खुशी रहने अमितको मधुरो बोली सुनेर म पनि चिन्तित भएँ। म घर नगई अमितलाई भेट्न त्यही झम्सीखेलको क्याफेमा गएँ जहाँ मैले प्राय जसो अमितसँग भेट्थेँ।

मलाई देख्नेबित्तिकै अमितले भन्यो, ‘मलाई अहिले साथीको ऋण तिर्न ७ लाख रुपैंया चाहिएको छ। नत्र साथीले मलाई प्रहरीमा उजुरी गर्ने धम्की दिएको छ।’ अमितले एकै सासमा आफ्नो समस्या पोख्यो। अमित भन्दै थियो, ‘मैले व्यापार गर्ने क्रममा मलाई मेरो साथीले धोका दियो। त्यसैले मलाई यस्तो समस्या पर्‍यो। अमितको कुरा सुनेर मलाई के गरौं कसो गरौं भयो।

७ लाख रुपैंया कम रकम थिएन। त्यसमाथि मैले कहाँबाट ल्याउनु त्यत्रो रकम? बेलुका घर पुगेर मैले निकै ठूलो साहस राखेर बुवाआमालाई त्यो कुरा सुनाएँ। उहाँहरुको अगाडि त्यो समस्या राख्नु मेरो लागि कम साहसको कुरा थिएन। बुवाआमा पनि छक्क पर्नुभयो अमितले यति ठूलो रकम कसरी र किन माग्यो?

अमित मेरो जीवनमा आफैं आएको थियो। त्यो बाहेक न अमितले आफ्नो कोही नातेदारलाई मसँग भेटाएको थियो न त आफ्नो बुवाआमासँग मलाई कुरा गराएको थियो। उसको मिठो बोलीमै मख्ख थियौं म र मेरो परिवार। सधैं राम्रो लाग्ने अमित यसपटक पैसा मागेको कारणले कता कता हामी सबैको मनमा शंकास्पद पात्रको रुपमा बस्न थाल्यो।

समयले कति छिटो फड्को मार्दोरहेछ। अमित र मेरो  चिनजान भएको पाँच महिना पुगिसकेको थियो। पाँच महिनाको अवधिमा अमितले विभिन्न समस्या देखाएर ब्याज सहित तिर्ने बाचा गरेर हामीसँग दश लाख रुपैंया लियो।

अमित मसँग उस्तै मायालु पारामा बोलिरहन्थ्यो र पहिला जसरी बेलाबेलामा हाम्रो घरमा पनि आईहन्थ्यो। चिनजान भएको ५ महिना बितिसकेको हुनाले पनि बुवाआमाले अमितलाई आफ्नो बुवाआमाको साथमा मेरो हात माग्न आउन अनुरोध गर्नुभयो।

तर अमित यी कुराहरुलाई हरेक पटक केही न केही बाहनामा टारिरहन्थ्यो। विस्तारै अमितले फोन कम गर्न थाल्यो। घरमा आउने जाने क्रम पनि घट्न थाल्यो। अमितको परिवर्तित व्यवहारले हामी सबै चकित हुन थाल्यौं। हरेक दिन पाँच पटकसम्म मसँग कुरा गर्ने अमित एकपटक कुरा गर्न पनि झर्को मान्न थाल्यो। विस्तारै विस्तारै हामी दुई जनाको कुराकानी पातलिदैं जान थाल्यो। मलाई लाग्थ्यो मैले आफूलाई माया गर्ने मान्छे भेटेँ। तर त्यो सब मेरो भ्रम थियो।

एकदिन म किताव पढेर बसिरहेकी थिएँ। अचानक फोन बज्यो। अमितले गरेको थियो। मैले फोन उठाउनासाथ अमितले भन्यो। ‘म चितवन जाँदैंछु बाटोमा फोन लागेन भने पिर नगर्नु पर्सि फर्केर आईहाल्छु नि, अनि हामी ईङ्गेजमेन्ट गर्नुपर्छ।’

अमितको यति मात्रै बोली सुन्दा पनि मेरो मन प्रशन्न भयो। अमित फर्केपछि ईङ्गेज्मेन्ट गरेर विवाह गर्ने सपना बुन्दै मैले दिन कटाउँदै थिएँ।

एकदिन मलाई सेभ नगरिएको नयाँ नम्बरबाट फोन आयो।

‘हेलो! तपाईँ तृप्ती दिदी हो?’, अपरिचित स्वरमा कसैले सोध्यो।

‘हो, को बोलेको?’ मैले प्रश्न बिसाउन नपाउँदै उताबाट उत्तर आयो, ‘म सुष्मा विष्ट, के तपाईँ अमित शर्मालाई चिन्नुहुन्छ?’

अमितको नाम अपरिचित व्यक्तिको मुखबाट सुन्नासाथ म तर्सिए झैं भएँ, मनमनै सोचेँ, ‘कतै अमितलाई केही त भएन? हैन हैन त्यस्तो केही हैन।’ म यस्तै यस्तै सोच्दै थिएँ। उताबाट अवाज आयो, ‘हेलो सुन्दै हुनुहुन्छ?’

‘हँ अँ अँ सुन्दैछु भन्नुस् न,’ म चिन्छु अमितलाई

‘तपाई र अमितको विवाहको कुरा चलेकोरहेछ। तर अमित र मेरो एक वर्ष अगाडि ईङ्गेज्मेन्ट भएको हो। विवाह गर्ने कुरा चलेको थियो। अचानक सम्पर्क विहिनभयो अनि मैले तपाईँको नम्बर बल्ल बल्ल पत्ता लगाएर गरेको।’

सुष्मा उताबाट बोल्दै थिई। यता मलाई सुष्माको कुरा सुन्दा सुन्दै बेहोस भएर ढलुँला जस्तो भयो। तर, पनि आफूलाई नियन्त्रणमा राखेँ। मैले सुष्मासँग भेट्ने समय मिलाएर फोन राखेँ।

भोलिपल्ट पुतलीसडकको क्याफेमा दुबैले भेट्यौं। एकअर्काको हुलिया र शारीरिक बनोट भनिसकेकोले मलाई र सुष्मालाई एकअर्कालाई चिन्न गाह्रो भएन। मेरो र सुष्माको राजकुमार एउटै थियो। सुष्मालाई अमितले सारा परिवारको अगाडि राखेर हातमा औंठी लगाएर ईङ्गेज्मेन्ट गरेको थियो भने मसँग ईङ्गेज्मेन्ट गर्ने बाचा गरेर टाढिएको थियो।

दुबैजनाले सँगै बसेर निकै बेर गफ गरिसकेपछि सुष्माले अमितलाई ४० लाख रुपैंया दिएर सहयोग गरेको कुरा बताई। दुबैजना चकित मुद्रामा एकअर्काको अनुहार हेर्न थाल्यौं। हामी दुबैले पालैपालो अमितलाई फोन गर्ने जमर्को गर्‍यौं। तर, अमितको फोन स्विच अफ मात्रै भनिरह्यो।

सुष्मा र मेरो कुराकानीले एक अर्काको घाउमा मलम लाउने काम गरिरहेको थियो हामीहरु अमितबाट पीडित भएको अरु महिलाहरुको खोजीमा थियौं। अमितको एउटा नजिकको साथीबाट हामीहरू ती महिलाको सामु पुग्न सफल भयौं। ती महिलालाई पनि अमितले प्रेमको नाटक गरेर १० लाख रुपैंया लिएको पुष्टी भयो। तर, न कसैले अमितको बारेमा पुलिसलाई खबर गर्न सक्यौं न अमितलाई खोज्न नै।

समयले तीन वर्ष कटाईसकेको थियो। मलाई बिस्तारै अमित बिना बाँच्ने बानी परिसकेको थियो। म सोच्थेँ बेलाबेलामा पैसा चोर्ने, सामान चोर्ने चोरहरु समातिएको समाचार सुनिन्छ। तर के अर्काको मन र मुटु चोरेर भावनासँग खेलवाड गर्नेहरु कहिल्यै समातिदैंनन्? 

 म एकदिन टिभीमा समाचार सुन्दै काम गर्दै थिएँ। समाचारमा भनिरहेको थियो, ‘माफियाद्धारा परिचालित अमित शर्माको गोली हानी हत्या।’ अमित शर्मा नाम सुन्नासाथ मैले टाउको उठाएर टिभीमा हेरेँ। टि.भीमा देखिएको अमित शर्मा त्यही थियो जोसँग मेरो तीन वर्ष अगाडि परिचय भएको थियो अनि सुष्माको ईङ्गेज्मेन्ट।

भोलिपल्ट अमित शर्माको समाचार पत्रिकाभरी छापियो। मैले त्यसपछि  सुष्मालाई फोन गरेँ, सुष्माको फोन उठेन। सुष्माको घर एकपटक मैले बाहिरैबाट देखेकी थिएँ। म हतार हतार ट्याक्सी लिएर सुष्मा बस्ने घरतर्फ लागेँ।

घरमा ढोका खुल्लै थियो। तर, कसैको आवाज थिएन। म सुष्माको कोठा पुग्दा सुष्मा भूईँमा लडिरहेकी थिई। सुष्माको शरीर पूरै चिसो थियो। अमित शर्माले संसार छोडेको भोलिपल्ट सुष्माले पनि संसार छोडिसकेकी थिई। म त्यो लडिरहेको त्यो लाशलाई एकटकले हेरिरहेँ।

प्रकाशित मिति: : 2020-01-26 00:15:00

प्रतिकृया दिनुहोस्