टर्कीमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २९ पुग्याे, १४ सय बढी घाइते

एजेन्सी

काठमाडाैं

टर्कीमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ। ६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।

बिबिसीका अनुसार भूकम्प परि  १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्। पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।

शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेटमा एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवनहरु भत्किएका छन्। भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ। प्रभावित क्षेत्रमा ४० सयभन्दा बढी उद्धार टोली खटिएका छन्।

टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ। सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो।
 

प्रकाशित मिति: : 2020-01-26 20:27:23

प्रतिकृया दिनुहोस्