स्वर्गकी अप्सरा रारा (भिडियाे र फाेटाेसहित)

समुन्द्री सतकबाट २९ सय मिटर उचाइमा रहेको छ, रारा ताल। स्वर्गको अप्सरा मानिने राराको सुन्दर अनि कञ्चन आवाज सुनेर नलठ्ठिने यो धरतीमा को नहोलान। 

नेपालको विकट मुगु जिल्लामा अवस्थित राराको साैन्दर्यताले मोहित भएका देशी तथा विदेशी पर्यटक घरिघरि त्यही पुग्न चाहन्छन्। राराको वास्तविक लम्बाई ५ किमी रहेको छ। यसको चाैडाई १ किमी र गहिराई १६७ मिटर मानिन्छ। रारामा तीन प्रकारका असरल माछा पनि पाइन्छ। त्यसमा पनि एउटा प्रजातिको माछा विश्वमा अन्यत्र पाइदैन। रारामा मात्र पाइन्छ। 

राराका थुप्रै विशेषता भित्र यहाँको माैसमलाई पनि लिन सकिन्छ। यहाँ माैसमअनुसार तालको रंग फेरिने गर्छ। बिगतकाे तुलनामा केही वर्ष यतादेखि रारा घुम्न आउनेकाे संख्या ह्वात्त बढेकाे छ। गत वर्ष रारा घुम्न आउने विदेशी पर्यटक २९७ पुगेको थियो। यसपालि ४ सयकाे हाराहारीमा विदेशी पर्यटकले रारा टेकिसकेका छन्। 

स्थानीय होटल व्यवसायी देबीकृष्ण रोकाया नेपाल भ्रमण वर्ष–२०२० मा राराले कर्णाली प्रदेशको प्रतिनिधित्व गरेकाे बताउँछन्। उनले सञ्चालन गरेको रारा होम स्टे ढुंगा र काठले निर्मित छ, जहाँ आउने अधिकांश पर्यटक स्थानीयस्तरको परिकार खान पाउँदा खुशी हुन्छन्। 

रारामा आउने पर्यटकलाई खानबस्न व्यवस्थाका साथै स्थानीय कला–संस्कृति र नृत्यले लोभ्याउने गरेकाे छ। नेपाल भ्रमण वर्ष–२०२० अन्तर्गत कर्णालीले ‘विश्वको गन्तब्य नेपाल, नेपालको गन्तब्य कर्णाली’ नारासहितको रारामा बृहत पर्यटन इभेन्ट गर्ने तयारी समेत गरेको छ। 

त्यति मात्रै नभएर कर्णाली प्रदेश थप ‘सुन्दर कर्णाली घुमौ यसपालि’ काे नारा सहित भ्रमण वर्ष मनाउने तयारीमा छ। राराको इतिहास, राराको सुन्दरता र कर्णालीको विशेषता बुझ्न कर्णाली पुग्नै पर्छ। रोकायाका अनुसार कर्णाली आफैमा एउटा रमाईलाे र खाेजपूर्ण यात्रा हो। 

रारा आउने जो कोही कर्णाली प्रदेशलाई मिहिन ढंगले अध्ययन गर्न सक्छ। यहाँ भएका पुरातात्विक अनुसन्धान र खोजको अध्यन समेत गर्न सकिने बताउँछन। कलकलाउँदो राराको पानी र यहाँ देखिने बिभिन्न प्रकारका चराचुरुङ्गीसँगै पाइने अमूल्य जडिबुटि अर्को आकर्षणकाे केन्द्रबिन्दु हाे। 

तालबाट १० मिनेट पैदल हिडेर यहाँका होमस्टेसम्म पुग्न सकिन्छ। यहाँ आउने सम्पूर्ण देशी तथा विदेशी पर्यटकका लागि सुबिधा सम्पन्न होटल नभए पनि स्थानीयद्धारा बनाइएका ढुंगा र काठले निर्मित होटल कलात्मक लाग्छन्। 

रोकाया आफै पनि होमस्टे सञ्चालक हुन्। उनको भनाइअनुसार रारा होमस्टेले अहिलेसम्म हजारौ स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको स्थानीय खाना मार्सि चामलको भात, मह, च्याङग्राको सुकुटी, फापरको रोटीको परिकार साथै क्याम्प फायरको ब्यवस्था गरिएकाे छ। 

रारा जाँदा लाग्ने खर्च:

काठमाडाैंबाट जीपमा रारा जाँदा लाग्ने २१ हजारदेखि २५ हजारसम्म। 
काठमाडाैंबाट बसमा १५  हजारदेखि २० हजारसम्म।
काठमाडाैंबाट प्लेनमा २५ हजारदेखि ४० हजारसम्म।

बाँकी खर्च पर्यटकमा भर पर्ने भएकाले यि सबै कुरा अध्ययन गरेर रारा घुम्न आउन अनुरोध गर्छन् व्यवसायी देवी रोकाया।रारा घुम्न आएकाले पुग्नै पर्ने अर्काे गाउँको नाम हो मुर्मा। रारा नजिकै रहेकाे याे गाउँमा स्थानीयले गर्ने स्वागत बिशेष हुने गरेकाे छ। त्यहाँको देउडा भाका र नृत्यसँगै आतिथ्य सत्कारले जो कोहीलाई फेरि एकपटक रारा घुम्न आउ जस्ताे लाग्छ। मुर्माकाे डाँडाँबाट देखिने हिमशृंखला अपि, साइपाल,कान्जिओरा र खप्तडलगायतका दृश्यले पर्यटकलाई झन् बढी उत्साह प्रदान गर्ने गरेकाे छ। 

प्रकाशित मिति: : 2020-02-01 07:03:00

प्रतिकृया दिनुहोस्