साविक विजेता वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा मैन्जलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा उक्लिएको हो। वायर्नको जितमा रोबर्टो लेवान्डोस्की, थोमस मुलर र थियागोले गोल गरे। यता घरेलु टोली मैन्जका लागि जेरिमिहा जुस्टेले एक गोल फर्काए।
खेलको ८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। १४ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको २–० बनाए।
यस्तै २६ औं मिनेटमा वायर्नका थियागोले गोल गर्दै अग्रता ३–० को बनाए । तर ४५ औं मिनेटमा जुस्टेले मैन्जका लागि एक गोल फर्काए पनि जितको लागि प्रयाप्त हुन सकेन।
जितसँगै वायर्नले २० खेलमा ४२ अंक जोडेको छ। वायर्नले आरबी लिपजिगलाई २ अंकले पछि पारेको छ। १८ अंक जोडेको मैन्ज १५ औं स्थानमा रहेको छ ।