नेपालले गुमायो तेस्रो विकेट, दीपेन्द्रसिंह ऐरी पनि आउट

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले तेस्रो विकेट गुमाएको छ। 

नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो। ५७ बलमा ५ चौका १ छक्का प्रहार गरेका ऐरीलाई मोहम्मद नदीमले बोल्ड गरे।

यसअघि नेपालले पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो। मल्ल १२ बल खेल्दै १ रनमा आउट भए। उनको विकेट कालीमुल्लाहाले लिएका थिए। 

यस्तै दोस्रो विकेट पारस खड्काले गुमाए। उनी बिलाल खानको बलमा ३ रन बनाउँदै आउट भए।       

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो।

उसका लागि मोहम्मद नदीमले सर्वाधिक ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेले। उनले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

४० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन बनाएको ओमानले अन्तिम १० ओभरमा ७६ रन जोड्यो।

नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडेका थिए।

खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए। करणले केसीले शरद भेषवाकरबाट खुशीलाई क्याच गराउँदै साझेदारी तोडेका थिए।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरूवात दिलाएका थिए।

करणले नै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराउँदै व्यक्तिगत दोस्रो विकेट लिए।

१३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा डाइरेक्ट हिटमार्फत रन आउट गराएका थिए।

१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गराउँदै एकदिवसीयमा डेब्यू विकेट लिए।

सोही ओभरको एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएँदै एकै ओभरमा दुई विकेट लिन सफल भए।

एक समय ओमान ५७/५ को संकट अवस्थामा पुगेको थियो । खराव सुरुवात गरेको ओमानलाई छैठौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै केही उकास्ने काम गरे।

सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै यी दुईबीचको साझेदारी तोडे। ७२ बल खेलेका गौडले ३ चौका र १ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले ४२ औं ओभरको चौथो बलमा बादल सिंहलाई रोहित कुमार पौडेलबाट ५ रनमा क्याच आउट गराए।

त्यसपछि करणले कामिदुल्लाहलाई १ रनमा आउट गर्दै आफ्नो चौथो विकेट पुरा गरे।

तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिएका हुन्।

ओडीआईमा डेब्यू गरिरहेका स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिएर ३ विकेट हात पारे। दीपेन्द्रको नाममा १ विकेट रह्यो। यस्तै ओडीआई डेब्यू खेल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडनसहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन्। यस्तै विकेटका लागि भरपर्दा बलर सन्दीप लामिछाने आज महंगो साबित भए। १० ओभरमा १ मेडनसहित ४५ रन खर्चिएका सन्दीपले कुनै पनि विकेट लिन सकेनन्। उनले ५ चौका र १ छक्का दिएका थिए।

यस्तै पारस खड्काले ७ ओभर बलिङ गर्दै १ मेडनसहित ३० रन खर्चिए।

प्रकाशित मिति: : 2020-02-06 03:25:37

प्रतिकृया दिनुहोस्