ओमानविरुद्ध शरदकाे अर्धशतक

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपालका शरद भेषवाकरले अर्धशतक बनाएका छन्।

भेषवाकरले ९७ बलमा ५ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले सातौं विकेट गुमाएको छ।

यसअघि नेपालले सातौं विकेटको रुपमा करण केसीलाई शून्य रनमा आउट भएका थिए। उनलाई कालीमुल्लाहाले सन्दीप गौढको बलबाट क्याच आउट बनाए। नेपालले छैठौं विकेटमा बिनोद भण्डारीलाई गुमाएको थियो। भण्डारी २४ बलमा २६ रन बनाउँदै खवार अलिले ३३ औं ओभरमा फ्यालेको पहिलो बलमा क्याच आउट भएका हुन्। उनले प्रहार गरेको बल सन्दीप गौढले समातेका थिए।

नेपालले चौथो र पाँचौं विकेट लगातार गुमाएको थियो। चौथो विकेट आरिफ शेखको खसेको थियो भने पाँचौं विकेटको रुपमा रोहितकुमार पौडेल आउट भएका थिए। उनीहरुलाई जीशान मकसुदले २३ औं ओभरको पहिलो र दोस्रो बलमा ६ र शून्य रनमा आउट बनाए। 

नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। ५७ बलमा ५ चौका १ छक्का प्रहार गरेका ऐरीलाई ३७ रनमा मोहम्मद नदीमले बोल्ड गरे।

उनी २० औं ओभरको चौंथो बलमा आउट हुन पुगेका थिए। दोस्रो विकेट पारस खड्काले गुमाए। उनी चौंथो ओभरको ३ बलमा बिलाल खानको फ्याँलेको बलमा डक आउट भए। आउट हुनुपूर्व उनले १४ बलमा ३ रन बनाएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल १२ बल खेल्दै १ रनमा आउट भए। उनको विकेट कालीमुल्लाहाले लिएका थिए। 

प्रकाशित मिति: : 2020-02-06 04:43:37

प्रतिकृया दिनुहोस्