सजाय

‘सोभन, बाबु छिटो उठ्! १० बजिसक्यो,’ मामुले मायालु स्वरले उठाउनुभयो। मैले एक वर्षपछि घरको ओच्छ्यान पाएको थिएँ। बितेका एक वर्ष त मेरो जेल मै बित्यो। तर, आफ्नो सन्तानले जति नै दुःख किन नदिउन् उनीहरु आफ्नो अभिभावकको लागि सधैं प्यारा हुँदारहेछन्। विशेष गरी आफ्नी आमाको।

म सोभन अधिकारी। बाबा मामुको जेठो छोरो। परिवारमा बाबा, मामु, बहिनी र म। बाबा, मामुले राम्रै संस्कार दिएर हुर्काउनुभएको थियो। बहिनी र मेरो पढाई राम्रै थियो। बाबा सरकारी वकिल हुनुहुन्थ्यो, मामु साधारण गृहणी।

मेरो राम्रो पढाई भएकाले बाबा मलाई सधैं अस्ट्रेलिया ट्राई गर्न भनिरहनुहुन्थ्यो। तर, मामु चाहनुहुन्थ्यो कि म उहाँको आँखा अगाडि नै बसेर पढुँ। मलाई पनि विदेशप्रति खासै मोह थिएन। त्यसैले म आफैंले पनि विदेश जाने चासो खासै देखाएको थिइनँ।

मेरो विदेश गएर पढ्ने ईच्छा खासै नभएपछि बाबाले पनि कर गर्नु भएन। त्यसपछि काठमाडौंकै नाम चलेको कलेजमा बिएससी गर्न थालेँ। प्लस टु पढ्दा खासै साथीको संगतमा नपरे पनि ब्याच्लरमा साथीसँग मेरो अधिकांश समय व्यतित हुन थालेको थियो। म आफैंलाई डर लाग्थ्यो कि साथीहरुको संगतले कतै मेरो पढाई नबिग्रियोस्।

साथीहरुको समूहमा मसँग धेरै मिल्नेमध्येमा सोनाम थियो। सोनाम गुरूङ, जसको बुवा विदेशमा हुनुहुन्थ्यो र उसको हरेक ईच्छा बिना कुनै हिच्किचाहट पूरा गरिदिनुहुन्थ्यो। हाम्रो साथीहरुको समूहमा त्यसैले पनि उसको रवाफ अलि भिन्न थियो। पढाई पनि खासै राम्रो थिएन, सोनामको। म प्रायजसो उसँग टाढै बस्ने बाहना खोजिरहन्थेँ। तर, सोनम कुनै न कुनै वाहनामा मेरो नजिक आईरहन्थ्यो। वा हुनसक्छ उसको आनीबानीको कारणले गर्दा पनि ऊ सँग अरू कोही नजिकिन सकेनन्।

सोनमसँग नजिकिएको देखेर मलाई धेरै साथीहरुले चेतावनीसमेत दिन्थे। तर, म कसैको कुरा सुन्थिनँ। सुनेर पनि के गर्न सक्थेँ र। सोनाम यसै पनि लिसो टाँसिए झैं मसँग टाँसिरहन्थ्यो।

सोनाम बदमासहरुको ग्याङमा पथ्र्यो। उसलाई केही कुराको कुनै पर्वाह थिएन। तर, मलाई आफ्नो बाबा र मामुको धेरै डर लाग्थ्यो। उहाँहरुले धेरै सपना सजाउनुभएको थियो मेरो भविष्यको लागि। तर मलाई जुन कुराको डर थियो त्यही भयो। म सोनमको संगतले पढाईतिर कम ध्यान दिन थालेँ। उसले जतिबेला जहाँ जाउँ भन्यो म त्यतै बरालिन्थेँ। मलाई आफ्नो बाबा र मामुको नै डर लाग्न छोडिसकेको थियो।

हाम्रो कलेजमा एउटी असाध्यै राम्री केटी थिई सीया। गोरी, अग्ली अनि हल्का मोटी। केटाहरु उसको लागि मरिहत्ते गर्थे। बि.बि.एस पढ्ने सीया र हाम्रो पढाईको समय उही हुन्थ्यो। सीया बस्नेत पढाईमा पनि उत्तिकै तेज थिई। ऊ कसैसँग खासै बोल्दिनँ थिई। उ स्कोलरशिपमा पढिरहेकी थिई।

सोनम सियाको पछि पछि लागिरहन्थ्यो। सोनाममा सियालाई जसरी नि पाउँछु भन्ने अहम थियो। त्यसैले त बुवाले विदेशबाट पठाईदिएको पैसाले उसले सियाको लागि महंगो महंगो उपहार किन्थ्यो। सोनमले जति उपहार दिए पनि सिया त्यसलाई फिर्ता गरिदिन्थी।

भ्यालेन्टाइन डे आयो। पश्चिमी संस्कृति भए पनि नेपालीमा यसले राम्रो जरो गाडेको थियो। त्यसदिन कलेजमा खासै पढाई भएन। सियाले मलाई एक्लै भएको मौका पारेर एउटा पत्र मेरो हातमा थमाईदिई। उसको पत्र कतिखेर खोलौं जस्तो भईरहेको थियो। फेरि सोनमको डर पनि लाग्न थाल्यो। सोनमले सियालाई र सियाले मलाई पत्र दिई। घर पुगेर सियाको पत्र पढ्न थालेँ।

प्यारो सोभन!

धेरैदिनदेखि मनमा लागेको कुरा आज तिमीलाई भन्दैछु। हुन त मनमा लागेको कुरा भन्न प्रणय दिवस नै पर्खिनपर्ने त थिएन। तर, आजै जुरेछ। तिमी र सोनम धेरै मिल्ने साथी हौ मलाई थाहा छ। तर, सोनम राम्रो मान्छे पटक्कै हैन। उसमा भिन्दै रवाफ र घमण्ड छ। त्यतिमात्रै हैन आफ्नो स्वार्थको निम्ति जे पनि गर्न सक्छ। म सोनमलाई हैन तिमीलाई मन पराउँछु। तिमीलाई म पूरानै ट्यालेन्ट सोभन भएको हेर्न चाहन्छु। अनि म तिम्रो हात समाएर सारा जवन सगै हिड्न चाहन्छु। यदी मेरो प्रस्ताव तिमीलाई स्वकार्य छ भने भोलि कलेजपछि म तिमीलाई कलेजको पार्कमा पर्खिरहेकी हुनेछु। बाँकि तिम्रो ईच्छा।

तिमीलाई माया गर्ने

सिया

सियाको पत्रपढेपछि मुखभरी पसिना आयो। माया त मलाई पनि सियाको लाग्थ्यो। तर, यो कुरा उसलाई भन्ने आँट कहिल्यै पनि आएन। किनभने सोनमले एकोहोरो पाराले सियालाई मनपराईरहेको थियो र म यो रामोसँग जान्दथेँ कि उ आफूले चाहेको कुरा पाउन जे पनि गर्न तयार थियो। मैले सियालाई फोन गरेँ र उसलाई कलेजभन्दा बाहिरको रेस्टुरेन्टमा भेट्ने बाचाको साथ फोन राखेँ।

भोलिपल्ट सोनम मख्ख पर्दै कलेज आयो। ‘सोभन तँलाई थाहा छ सियाले मेरो प्रपोजललाई एसेप्ट गरी नि।’ म छक्क परेँ एकदिन अगाडि मलाई मनपराउँछु भनेर विश्वास दिलाएर भेट्ने बाचा गरेकी सियाले सोनमको प्रस्ताव कसरी स्वीकारी? सोनमको कुरा सुन्दै थिएँ सियाले ठ्याक्क म्यासेज गरी, ‘२ बजे बाहिरको रेस्टुरेन्टमा है।’ सोनमको कुरा सुनेपछि सियासँग भेट्ने ईच्छा त सेलाईसकेको थियो। तर, पनि सियाको लागि गएँ।

सियालाई भेटेपछि थाहा भयो उसले सोनमको डरले मात्रै त्यो प्रस्ताव स्वीकारेकी रहिछे। अबको बाटो कसरी हिँड्ने भन्ने बारे दुबैले सोच्न सकेका थिएनौं। मैले केही न केही उपाय निकालौंला भनेर सियालाई आश्वासन दिएँ। सियाले क्यापचिनो मगाई अनि मैले मोक्का। कफि पिएर दुबैजना बाहिर के निस्केका थियौं ठ्याक्कै सोनम भेट भयो। रिसले चूर भएको सोनमले केही नबोली आफ्नो ब्यागबाट बोतल झिकेर सियाको अनुहारमा तरल पर्दाथ खन्याईदियो। सिया छट्पटाउन थाली। सोनामले खन्याएको तरल पदार्थ एसिड थियो।

सोनम भागिहाल्यो। तुरून्तै पुलिसको भ्यान आयो। अनि देख्नेहरु सबै चुप रहेँ। पुलिसले मलाई समातेर लग्यो। सियालाई उसको आफन्तहरु आएर अस्पताल लगे। पुलिसलाई मैले बयान दिने लाखौं कोशिश गर्दा पनि सकिनँ। किनकी सोनमले त्यो एसिडको बोतल मेरै ब्यागमा हालेर भागेको रहेछ।

एक वर्ष मैले बिना गल्तीको सजाय भोगिरहेँ। आफ्नै बाबा सरकारी वकिल भएर पनि आफ्नो निर्दोष छोराको पक्षमा मुद्दा लड्न सक्नुभएन। सबै चकनाचुर भयो। एक वर्षदेखि एसिड आक्रमणले पीडित मेरी सियाको अवस्थामा केही सुधार आएको थियो। एसिडले उसको अनुहारको आधा भाग जले पनि ऊ मेरो लागि उत्तिकै सुन्दर थिई। बाबा र मामुसँग मैले सियासँग विवाह गर्ने निर्णय सुनाएँ। उहाँहरु मेरो निर्णयसँग असाध्यै खुशी हुनुभयो। त्यसैले सियाको परिवार र मेरो परिवारको बिचमा सामान्य तरिकाले हाम्रो विवाह सम्पन्न भयो।

सियाको अनुहार बिगारेर भाग्ने सोनम त कता गयो थाहा छैन। तर, सियाको अनुहारमा खुशी देखेर मैले आफूले एकवर्ष भरी पाएको सजायलाई सजिलै बिर्सिएँ। सिया मेरो साथ पाएर खुशी भई।

प्रकाशित मिति: : 2020-02-08 23:31:05

प्रतिकृया दिनुहोस्