साविक विजेता बार्सिलोनाकाे संघर्षपूर्ण जित, लेन्जलेटले गरे निर्णायक गोल

साविक विजेता बार्सिलोनाले स्पेनिस लिगमा संघर्षपूर्ण जित निकालेको छ। 

आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३–२ गोल अन्तरले बार्सिलोनाले हराएको हो।

बेटिसको घरेलु मैदानमा भएको खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित हात पार्यो। 

सर्जियो क्यानाल्सले खेलको छैटौ मिनेटमा पेनाल्टीमा बेटिसलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए।

२६ औं मिनेटमा नबिल फेकिरको गोलसँगै घरेलु टोलीले पुनः खेलमा अग्रता लियो। पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए।

फेकिर ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो। त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए।

बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा यथावत छ। शीर्ष स्थानको रियल मड्रिडको ५२ अंक छ। बेटिस क्लब २८ अंक सहित १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-10 19:51:12

प्रतिकृया दिनुहोस्