जितसँगै मनाङले ए डिभिजन लिग सक्कायो

बिएल संवाददाता

काठमाडाै‌ं

साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

ललितपुर सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ तेस्रो स्थानमा उक्लिएको हो।

मनाङलाई जित दिलाउन विमल राना र अन्जन बिष्टले एक एक गोल गरे।मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो।

खेलको ३२ औं मिनेटमा आदित्य चौधरीको पासमा विमलले सुरुवाती गोल गरेका थिए।  

त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को जित दिलाए। निशान लिम्बुले मिलाएको पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए। 

यस्तै खेलको ९० औं मिनेटमा विशाल बस्नेतले रातो कार्ड पाएपछि पुलिस १० खेलाडीमा समेटिएको थियो। 

पुलिसलाई हराएसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ। मनाङले १२ खेलमा २५ अंक जोडेको छ। मनाङको उपाधि होडबाट भने बाहिरीसकेको छ। 

मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ र दोस्रो स्थानको मछिन्द्र भन्दा एक अंकले पछि रहेको छ।

पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-12 07:11:14

प्रतिकृया दिनुहोस्