व्यवस्थापन चुस्त बनाउन निर्देशन

रासस

काठमाडाैं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन्।

नयाँ सडकस्थित निगम मुख्यालयमा बुधबार आयोजित कार्यक्रमका  पदभार ग्रहण गर्दै उनले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने र  निगम बुझेका कर्मचारीले संस्थाको सुधारमा कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्न आग्रह गरे।

सचिव अधिकारीले विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड द्एि। ‘निगममा सरकारको लगानी भएकाले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ ता पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिनेछ’, उनले भने।
    
निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गरे। उक्त अवसरमा विभिन्न विभागका निर्देशकले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए।

नेपाल वायुसेवा निगमले आगामी फागुन १९ गतेदेखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने विश्वास दिलाएको छ।

जापानबाट प्रसारण हुने एउटा सञ्चारमाध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण भएको भन्दै आवश्यक आधिकारिक जानकारी नलिई प्रसारित उक्त समाचारको खण्डन गरेको छ। साथै नारिता उडानबारे निगमको निर्धारित उडान तालिका बदलियो भन्नेबारेमा भ्रममा नपर्न सम्बन्धित निकाय सबैमा विज्ञप्तिमार्फत अवगत गराएको छ।

प्रकाशित मिति: : 2020-02-13 20:28:08

प्रतिकृया दिनुहोस्