कोपा इटालियामा युभेन्ट्स हारबाट जोगिएको छ। एसी मिलानको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले घरेलु टोलीलाई बराबरीमा रोक्न सफल भएको हो।
खेलको अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको एक्रोब्याटिक शट डेभिड कालाब्रियाको हातमा लागेको थियो। सुरुमा रेफ्रीले पेनाल्टी नदिए पनि त्यसलाई रिभ्युु गरेपछि पेनाल्टी दिएका थिए। जसलाई रोनाल्डोले गोलमा परिणत गरे।
यो गोलका कारण युभेन्टस लगातार तीन हारबाट जोगिएको छ। यसअघि युभेन्टस नापोली र हेल्लास भेरोनासँग पराजित भएको थियो।
पहिलो हाफ गोलरहित बनेको खेलको ६१औँ मिनेटमा अन्ते रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा थियो हर्नाण्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सीमित बनेको थियो।
त्यसअघि युभेन्टसका भेटरान कप्तान जियानलुगी बुफनले उत्कृष्ट प्रदर्शन गरे। उनले रेबिक र हर्नाण्डेजको उत्कृष्ट प्रहार एक हातले बचाएका थिए। त्यस्तै ज्लाटन इब्राहिमोभिचको प्रहार पनि उनले मुश्किलले बचाएका थिए।
अब यी दुईबीचको दोस्रो सेमिफाइनल लेग आउँदो मार्च ५ मा हुनेछ।