नेकपामा गुटबन्दी तीव्रः मुख्यमन्त्रीबाट नियुक्त मन्त्रीको सपथ अष्टलक्ष्मीले रोकिदिइन्

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका प्रदेश सरकारका भौतिक योजनामन्त्री रामेश्वर फुयाँलको सपथग्रहण नेकपाकी प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले रोकिदिएकी छिन्। 

नेकपाकी सो प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पौडेलले पार्टीनिर्णयबिना नै नियुक्त गरेको भन्दै सपथग्रहण रोकिदिएकी हुन्। मुख्यमन्त्री पौडेलले फुयाँललाई नियुक्तिका लागि प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंकहाँ लेखेर पठाइसकिएको स्रोतले जनाएको छ तर उनले सपथग्रहण गराउन पाएका छैनन्।

नेकपा स्रोतका अनुसार, मुख्यमन्त्री पौडेलले मंगलबार बिहान प्रदेश कमिटीका पदाधिकारी र प्रदेश मन्त्रिपरिषद्को संयुक्त बैठक राखेका थिए। त्यसमा मुख्यमन्त्री पौडेलले रिक्त भौतिक योजना मन्त्रीको जिम्मेवारी प्रदेश सभामा नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँललाई दिने प्रस्ताव गरेका थिए।

मुख्यमन्त्री पौडेल भने फुयाँललाई मन्त्री बनाउने भन्नेबित्तिकै इञ्चार्ज शाक्यले अस्वीकार गरेकी थिइन्। प्रदेश अध्यक्ष नारायण दाहालले पनि शाक्यलाई साथ दिएका थिए। त्यसपछि मख्यमन्त्री पौडेल बैठक छाडेर हिँडे। भोलिपल्ट मुख्यमन्त्रीले प्रदेश–प्रमुखकहाँ उनको नाम भने सिफारिश गरे।

मुख्यमन्त्री पौडेलले नै फुयाँललाई ४ बजे सपथग्रहण हुने जानकारीसमेत दिए। फुयाँल तयारी अवस्थामा बसे तर प्रदेश प्रमुखको कार्यालयबाट खबर आएन। प्रदेशसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भयो। 

धेरैजसो प्रदेशसभा बिहीबार बिहानसम्म काठमाडौं आइसकेका थिए तर रामेश्वर फुयाँल चाहिँ हेटौंडा नै बसे। सपथग्रहणको खबर आइएन। सपथग्रहणको संभावना नदेखेपछि उनी बिहीबार राती मात्र काठमाडौं पुगेका छन्। नियुक्त भइसकेका मन्त्री फुयाँलको सपथग्रहण स्थगितसँगै नेकपा प्रदेशसभित्रको विवाद सतहमा देखिएको छ। यो दुई वर्षअघि मुख्यमन्त्रीको निर्वाचनका बेलादेखिकै विवादको निरन्तरता हो। 

मुख्यमन्त्रीमा आफूसँगै पराजित साविक एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पौडेलले टेर्दैनन् न त अष्टलक्ष्मीले नै उनलाई मान्ने गरेकी छिन्। मुख्यमन्त्री पौडेलले राष्ट्रियसभाको चुनावका लागि काठमाडौं आएकोबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुयाँललाई मन्त्री बनाउने कुरा जानकारी गराएका थिए। नेकपा स्रोतका अनुसार, शाक्य रामेश्वरको साटो माओवादीका युवराज दुलाललाई मन्त्री बनाउन चाहन्छिन्। रामेश्वरको दाबी छ, ‘काठमाडौंको साविक एमालेको सीट हो। केशव स्थापितलाई हटाएपछि रिक्त पद माओवादीलाई दिन सकिन्न।’

प्रदेश इञ्चार्ज शाक्य माधवकुमार नेपाल खेमाकी नेतृ हुन्। अध्यक्ष नारायण दाहाल अध्यक्ष प्रचण्डनिकट हुन्। उनी नातामा प्रचण्डका भाइ पर्छन्। प्रदेश सहइञ्चार्ज शालिग्राम जमरकटेल, काशिनाथ अधिकारी र हितमान शाक्य छन्। उनीहरू पनि बनाउन हुने र नहुनेमा विभाजित छन्। 

मुख्यमन्त्री पौडेलसँग पार्टी नेताहरूको यत्ति ठूलो टसल भए पनि उनलाई मुख्यमन्त्रीबाटै हटाउनसक्ने किसिमको गुटबन्दी र नेता नदेखिएकाले थ्रेट छैन। अहिले राजधानी आएका प्रस्तावित मन्त्री फुयाँल निकटस्थसँग संयोग सुनाउने गर्छन्, ‘२० वर्षअघि म पार्टी जिल्ला कमिटीको निर्वाचित सचिव हुँदा अष्टलक्ष्मीका पति अमृत बोहोराले हटाएका थिए, अहिले मन्त्री हुन लाग्दा अष्टलक्ष्मीले नै रोक्दैछिन्।’

नेकपाभित्र माधव नेपाल खेमाले मुख्यमन्त्री पौडेललाई कमजोर बनाउन प्रदेश राजधानी काभ्रे हुनुपर्ने र नाम नेपाल मण्डल राख्न प्रस्ताव गरेका थिए। त्यसविरुद्ध पार्टीले ह्वीप लगाएर हेटौँडा राजधानी र नाम बागमती राखेका थिए। 

काठमाडौंका धेरै प्रदेश सांसद् हेटौँडाबाट राजधानी हटाउने पक्षमा थिए तर फुयाँल र दीपक निरौला हेटौंडाको पक्षमा सबैभन्दा क्रियाशील रहेको नेपाल पक्षको आरोप छ। मुख्यमन्त्रीको आदेश बमोजिम राजधानी हेटौँडा र नाम बागमती राख्ने ह्वीप जारी चाहिँ रामेश्वर फुयाँलले गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-02-15 05:52:58

प्रतिकृया दिनुहोस्