आमसञ्चार प्रतिष्ठान कानूनबाटै ल्याउँछौँ: मुख्यमन्त्री शाही

रासस

रुकुमपश्चिम

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आमसञ्चार प्रतिष्ठान कानून बनाएर गठन गर्ने तयारी गरिरहेको बताएका छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज आयोजित नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कार्यरत पत्रकार र सञ्चालित सञ्चारमाध्यमको व्यवस्थापनका लागि आमसञ्चार प्र्रतिष्ठान गठनमा जोड दिइएको बताए। 

‘हामीले गठनादेशमार्फत वा कानून बनाएर प्रतिष्ठान गर्ने भन्नेमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘प्रतिष्ठानको स्थायित्वका लागि सरकारले ऐन नै ल्याउने सोच गरेको छ ।’ यसबाट यहाँका पत्रकारको विद्यमान समस्या समाधान गर्न सरकार निरन्तर लागिपरेको उनले बताए। पछिल्लो समयमा समाजमा भ्रम पार्ने कामले मुलुक अलमलमा परेको भन्दै पत्रकारलाई राष्ट्रिय हितमा कलम चलाउन मुख्यमन्त्री शाहीले आग्रह गरे।   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले जवाफदेहीता र पारदर्शिता आजको आवश्यकता भएको बताए। ‘लोकतान्त्रिक राज्यको काम जनताको शान्ति र स्वतन्त्रताको रक्षा गर्ने हो । त्यसो हुन नसके प्रेस जगतले यसको खबरदारी गर्नुपर्दछ ।’ जनप्रतिनिधि र कर्मचारी जनताको शासक नभई सेवक भएको भन्दै इञ्चार्ज शर्माले राज्यले लिएको लक्ष्य पूरा गर्न सबैलाई समाजवादी म्याराथनमा लामबद्ध हुन अपिल गरे। 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पत्रकारिता लाभैलाभको पदमा नुहाउने नभई दुःख गर्ने पेशा भएको बताए । ‘पत्रकारिताको तागत दुनियाँले देखिसकेको छ । हरेक मामलामा पत्रकार राष्ट्रको मूल पहरेदार हो’,उनले भने, ‘अब कर्णालीका केबुल, टेलिभिजन, रेडियो दर्ताका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्त गर्छौं ।’

पुरानो व्यवस्थालाई बदलेर नयाँनयाँ युगको शुरु भइसकेको जनाउँदै उहाँले पत्रकारिताभित्रका विषालु झारलाई उखेलेर फाल्न पनि प्रेस जगतलाई अपिल गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले व्यावसायिक पत्रकारिताको विकासमा महासङ्घ निर्वाध लागेको बताए । 

कार्यक्रममा प्रेस काउन्सिलका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सदस्य, प्रेस सङ्गठन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार सङ्गठनका प्रमुख, कर्णाली प्रदेशका १० जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्लाका अध्यक्ष, प्रदेश पार्षद्, प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: : 2020-02-16 10:35:10

प्रतिकृया दिनुहोस्