कर्णाली चिनाउने उत्सव ‘कुडा कर्णालीका’ हुँदै 

सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव हुने भएको छ। सुर्खेतको ऋति फाउण्डेशनले यही फागुन १९ देखि २१ गतेसम्म उत्सवको आयोजना गर्न लागेको हो।

कर्णाली चिनाउने गरि गरिने कार्यक्रमा बौद्धिक विमर्श कर्णालीमै पहिलोपटक सञ्चालन हुन लागेको आयोजकले जनाएको छ। कार्यक्रममा साहित्य, कला संस्कृति, आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा पेचिलो बहस हुने आयोजकको दावी छ।

‘कुडा कर्णालीका’ नारा रहेको उक्त उत्सव कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको अयोजक समितिका संयोजक कमलराज लम्सालले जानकारी दिए। उनले उत्सव कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको अध्ययन, अनुसन्धान र उत्खननका कोसेढुंगा सावित हुने बताए।

उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्वलाई वक्ताका रुपमा आमन्त्रित गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म हुने उत्सवको पहिलो दिन ‘सरकारका तीन तहः बगाउन्या कर्णालीका बह’ सेसन रहनेछ। जसमा संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुबीच बहस हुनेछ। उक्त सेसनमा स्थानी तहबीचको आपसी सम्बन्ध, गाँउमा सिंहदरवार पुग्यो वा पुगेन? तीन तहका सरकारबीच स्रोत‐साधनको बाँडफाँट, संघीयता र समृद्धि लगायतका विषयवस्तुमाथि विमर्श हुनेछ।

खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयहरुमाथि बहस गर्न ‘खसका खासखुस’ सेसन चल्नेछ। उक्त सेसनमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद् रमानन्द आचार्य, डा विपिन अधिकारी लगायतको सहभागिता रहनेछ।

‘संस्कार र समानता’ नामक सेसनमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नुपरेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागिता लगायतका विषयमा बहस हुनेछ।

कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गर्न ‘काला पहाडका तोडा’ नामक सेसन चल्नेछ भने उक्त सेसनमा युवा तथा उद्यमशीलताका जानकारहरुले बहस गर्नेछन्।

कर्णाली किन घुम्ने? कर्णालीका पर्यटकीय गन्तव्यहरुको चर्चा, पर्यटन प्रवर्द्धन, नीतिगत व्यवस्था र वर्तमान अवस्था तथा अब गर्नुपर्ने कामबारे बहस गर्न ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ नामक सेसनमा सेसनमा फोटो पत्रकार भरतबन्धु थापा, मोहन मैनाली लगायतले बहस गर्नेछन्।

कार्यक्रमको दोस्रो दिन पश्चिम नेपालका तीन प्रदेशका सरकारी प्रतिनिधिहरुबीच बहस हुनेछ। कर्णाली आसपासका सूदुरपश्चिम र प्रदेश ५ का मुख्यमन्त्री वा मन्त्रीहरुबीच अन्तरप्रदेश सम्बन्धमा बहस गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। पत्रकार निर्मला शर्माले सञ्चालन गर्ने उक्त छलफलमा तीन प्रदेशबीचको भू‐राजनीतिक सम्बन्ध, विकास अन्तरसम्बन्ध, सहकार्य, साझा समस्या र समाधान लगायतका विषयमा बहस हुनेछ।

उत्सवमा सिमान्तकृत समुदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ। सिमान्त स्वर नामक उक्त सेसनमा डा शिवमाया तुम्बाहाङ्फे, मोहमदी सिद्धिकी, दुर्गा शोब र चन्द्रकिशोर झाले बहस गर्नेछन्।

त्यसैगरी कर्णालीको स्वास्थ्य र खाद्यान्नलाइ समेटेर निर्माण गरिएको ‘दबाई र देउता, भोक र भकारी’ सेसनमा लेखक तथा पोषणबारेका जानकार डा।अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा। कृष्णप्रसाद पौडेलले बहस गर्नेछन्।

नेपाली साहित्यमा कर्णालीको स्थान, कर्णालीबारे लेखिएका कथा, साहित्यमा कर्णालीका विम्ब लगायतका विषयमा पनि बहस हुने तय भएको छ। जसमा कर्णालीका साहित्यकार श्यामल, बुद्धिसागर लगायतले बहस गर्नेछन्।

कर्णाली प्रदेशमा १० जिल्ला भएपनि उत्सवमा एघारौं जिल्लाको विषयमा बहस हुनेछ। उक्त सेसनमा नेपालकै एकमात्र घुमन्ते जाति राउटे समूदायबारे छलफल चल्नेछ। जसमा लोपोन्मुख राउटे जातिको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण, राज्यको दायित्व लगायतका विषयमाथि बहस हुनेछ।

उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्ने? भन्ने सेसन चल्नेछ। भने प्रदेशको अर्थतन्त्रका आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छरु जस्ता विषयमा छलफल गर्दै तेस्रो दिनमा उत्सवमा सकिनेछ।

प्रकाशित मिति: : 2020-02-19 10:19:11

प्रतिकृया दिनुहोस्