विश्व विजेता स्पेनिस खेलाडी ईकर कासिलासले सन्यास लिने घोषणा गरेका छन्।
स्पेनबाट विश्वकप फुटबलको उपाधि जितेका कासिलासले व्यवसायीक फुटबल करियरबाट सन्यास लिने घोषणा गरेको पोर्चुगलको क्लब पोर्टोका अध्यक्ष पिन्टो डी कोस्टाले पुष्टि गरे।
‘उनले स्पेनिस फुटबल महासंघको नयाँ नेतृत्वको बिषयमा छलफल गरेका छन्। उनले व्यवासीयीक फुटबल करियरबाट सन्यास लिने निर्णय लिएका छन्,’ अध्यक्ष कोस्टाले भनेका छन्।
स्पेनका अन्तराष्ट्रिय स्टार कासिलासले स्पेनिस महारथी क्लब रियल मड्रिडमा १६ बर्ष बिताएका थिए। उनले रियलबाट ५ ला लिगाका साथै ३ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
उनले सन् २०१० मा स्पेनका लागि विश्वकप जितेका थिए। यस्तै, सन् २००८ र २०१२ मा युरो कपको उपाधि समेत जितेका थिए।
कासिलास ह्दयघातका कारण सक्रिय खेलाडी जिवनबाट बिश्राम लिएका छन्। उनी अहिले स्पेनिस फुटबल महासंघको अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्।