बी डिभिजन लिग: खेल तालिका सार्वजनिक, पहिलो खेलमा ब्वाइज युनियन र श्री कुमारी भिड्ने

बिएल संवाददाता

काठमाडाै‌ं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ।

एन्फाले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार दोस्रो डिभिजनको फुटबल आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएर चैत २३ गतेसम्म चल्नेछ। प्रतियोगिता अन्तर्गतका सबै ६६ खेल एन्फा कम्प्लेक्समै हुनेछ।

१२ टोलीको सहभागितामा हुने् प्रतियोगितामा राउन्ड रोबिन पद्दतिअनुसार सबैले एकअर्काको सामना गर्नेछन्। खेल तालिकाअनुसार आइतबार पहिलो खेलमा ब्वाइज युनियन क्लब र श्री कुमारी क्लबबीच खेल हुनेछ।

नेपाली लिग फुटबलको दोस्रो श्रेणीमा अहिले ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयावस्ती युवा क्लब, झम्सिखेल युथ क्लब, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब, बाँसबारी क्लब र श्री कुमारी क्लब छन्।

एन्फाले दोस्रो डिभिजनमा पुछारको एक टिमलाई मात्रै रेलिगेसनमा पार्ने प्रावधान राखेको छ। च्याम्पियन हुने टोलीले नगद १५ लाख पुरस्कारसहित ए डिभिजनमा बढुवा हुनेछ।

यसैगरी दोस्रो हुने टिमले १० लाख, तेस्रो हुनेले ८ लाख तथा चौथो हुनेले ५ लाख रुपैयाँ पाउने छन्। 

प्रत्येक टिमले तयारी खर्चस्वरुप १० लाख तथा प्रत्येक खेल खेलेवापत २५ हजार रुपैयाँका दरले पाउनेछन् भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले पुरस्कारस्वरुप जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2020-02-20 05:43:19

प्रतिकृया दिनुहोस्