भ्रष्टाचार गर्ने छुट कसैलाई छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्।

स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने प्रधानमन्त्री ओलीले बताए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताएका हुन्।

जनप्रतिनिधिलाई रूलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले भने, ‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो । जनप्रतिनिधिलाई पुर्‍यायो भने रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासलिटी दिएको होइन।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताए।

प्रधानमन्त्री ओलीले यही चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भने, ‘मलाई त्यसको चिन्ता छैन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो। हजार वर्ष कसैले पनि रूल गर्दैन। जतिसुकै सफल भए पनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन।’

प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताए।

प्रकाशित मिति: : 2020-02-21 07:24:20

प्रतिकृया दिनुहोस्