वेस्ट ह्यामविरुद्ध लिभरपुलकाे संघर्षपूर्ण जित, सिटीसँगको कीर्तिमान बराबरी

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ।

लिभरपुलले सोमबार राति रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ को कठिन जित निकालेको हो।

जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि पाहुना टोली वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसँगै वेस्ट ह्याम खेलमा अगाडी बढ्यो। ६८ औँ मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए। बराबरीतर्फ उन्मुख खेलको ८१ औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्ण तीन अंक दिलाए।

लिभरपुलको यो कीर्तिमानी जित हो। लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको छ।

सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो। लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ।

लिभरपुलले लिगमा २२ अंकको अग्रता कायम गरेको छ। वेस्ट ह्याम २४ अंक सहित रेलिगेशन जोनमै छ।
 

प्रकाशित मिति: : 2020-02-25 19:38:00

प्रतिकृया दिनुहोस्