रवीन्द्र अधिकारीको त्यो अधुरो वाचा....

रासस

काठमाडौं

 ‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिएँ।

'भोलिपल्ट बिहीबार दिउँसो ४ बजे मन्त्रालयमै भेट्ने कार्यक्रम थियो तर तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको वाचा अधुरै रह्यो’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले भने।

विसं २०७५ फागुन १५ गते उहाँ तेह्रथुम लागे। दिउँसो होटल हिमालयको एक कार्यक्रममा भएको बेला ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटना भयो भन्ने खबर आयो। 

सुरुमा त म स्वयं हेलिकप्टर दुर्घटनामा परेको भन्ने बारम्बार आफन्त र शुभेच्छुकको फोन आयो’, उहाँले भन्नुभयो, ‘किनकि मेरै क्षेत्र भएर पनि होला त्यसरी फोन आएको, सायद मैले जिन्दगीमै पहिलो पटक त्यति धेरै फोन 'रिसिभ' गरेको थिए। 

दुर्घटनाको वास्तविकता बुझ्न सबै संयन्त्र परिचालन गरेँ, सुरुमा पत्याउनै गाह्रो भयो तर 'होनहार दैव नटार' भने झैँ यथार्थलाई नकार्न सकिएन, त्यसलाई स्वीकार्नुबाहेक मसँग अर्को विकल्प थिएन।
    
ठिक एक वर्षअघि आजैका दिन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री अधिकारीसहितको दुःखद् निधन भएको प्रथम स्मृति सभामा आफ्ना सहपाठीको स्मरण गर्दै थिए पर्यटनमन्त्री भट्टराई। 

मन्त्रालयमा आयोजित स्मृति सभामा अधिकारीसँगको व्यक्तिगत सम्बन्ध, राजनीतिक जीवनका तितामीठा अविस्मरणीय सन्दर्भ कोट्याउँदै मन्त्री भट्टराईले उनकै स्मरणमा केही शब्द खर्चिए। अधिकारीसँग पर्यटन मन्त्री भट्टराईको निकै सहकार्य थियो। 

विसं २०४३ देखि सँगै एउटै विद्यार्थी सङ्गठनमा काम गरेको र अधिकारीको मृत्युको क्षणसम्म पनि अनवरत विवादरहित सहकार्य रहेको मन्त्री भट्टराईले सुनाउनुभयो। आफूले एक जना असल नेता गुमाएको उहाँले स्मरण गरे।   

त्यस दिन ताप्लेजुङको मौसम बिग्रिएको थियो। झण्डै १२ हजार फिट अग्लो स्थानमा रहेकोे पाथीभराको मौसम छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो। मान्छेलाई नै उडाउने गरी हावाहुरी चलेको छ। 

पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचबाट फर्किएका थिए। महिनादिनदेखि नै त्याे क्षेत्र हिउँले ढाकेको थियो। त्यही मौसममा सरकारी कामको सिलसिलामा तत्कालीन पर्यटन मन्त्री अधिकारीलगायत सवार हेलिकाेप्टर पाथीभरा पुगेको थियो। 
    
तेह्रथुमको चुहानडाडाँमा विमानस्थलको अवलोकन तथा अध्ययन गर्न गएको टोलीलाई प्रसिद्ध धार्मिक स्थल पाथीभराको दर्शन गरेर फर्कने चाहना पलायो। हेलिकाेप्टर त्यसतर्फ मोडियो। हिउँ र कोइरोकाबीच मन्दिर परिसरमा होलिकाेप्टर अडियो। 

मन्त्रीसहित सबैले पूजाआजा गरेर फर्कने बेला बेइमानी मौसमको भर थिएन तै पनि झन् बिग्रने हो कि भनेर हेलिकप्टर उड्ने निर्णय लिएपछि केही क्षणमै हेलिकाेप्टर दुर्घटना भयो। 
    
त्याे घटनामा मन्त्री अधिकारीसहित उनका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, यती एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो। 

घटना दिउँसो साढे १ भएकाे थियो, उद्धारका लागि काठमाडाैंबाट गएको सेनाको हेलिकाेप्टर अपराह्न साढे ४ बजे सुकेटार विमानस्थल पुगेको थियो। उद्धार टोलीलगत्तै घटनास्थल पुगेर शव सङ्कलन गरेका थिए। 

अनकन्टार भौगोलिक अवस्था दुर्घटनामा परेकाको उद्धार गर्न निकै कठिन थियो। दुर्घटनाको झण्डै २४ घण्टापछि सबै जनकाे शव निकालिएको थियो। त्यस दुर्घटनाले नेपालमा राम्रो राजनीतिक सम्भावना बोकेका संसदीय अभ्यासका साथै विकास र प्रशासनमा समेत दखल भएका व्यक्ति मन्त्री तथा पर्यटन क्षेत्रका अग्रज व्यक्ति शेर्पा र कुशल प्रशासकसहितलाई गुमाएको दर्दनाक क्षण भएको मन्त्री भट्टराईले उल्लेख गरे। 

उनले भने, ‘मेरो घनिष्ट मित्रलाई दुःखद् क्षणमा सम्झनुपर्दा हामीले एकअर्काको कमीकमजोरीबारे जानकारी दियौँ, राजनीतिक जीवनका हरेक मोड र अप्ठ्यारामा अनेकन आरोहअवरोह पार गरेर हामी नजिकै थियौँ।’

स्व. अधिकारीको जन्म विसं २०२६ कास्कीको मदनपोखरामा भएको थियो। सानैदेखि तेज विद्यार्थीका रुपमा परिचित अधिकारीले विद्यार्थीको अगुवाका रुपमा काम गरे । उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भए। 

पछि अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुगे। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, संसद्को विकास समितिको सभापतिको भूमिका निर्वाह गरेकाे अधिकारीले संविधान निर्माणका क्रममा देखिएका असहमतिका विषयको किनारामा समेत महत्वपूर्ण भूमिका खेले। 

पर्यटनमन्त्री भट्टराईले दिवङ्गत भएकाको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे। 

प्रकाशित मिति: : 2020-02-28 20:41:26

प्रतिकृया दिनुहोस्