बेलायतका विद्यालयहरु ८ हप्ताका लागि बन्द गरिन सक्ने

एजेन्सी

काठमाडाै‌ं

कोरोना भाइरस अर्थात कोभिड–१९को प्रकोप अझै बढे बेलायतका विद्यालयहरु ८ हप्ताका लागि बन्द गरिन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

डेलीमेलकाअनुसार एकै दिन तीन जनामा कोभिड–१९ संक्रमण देखिएपछि नियन्त्रणका लागि विद्यालय कम्तिमा दुई महिना बन्द गर्नुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका हुन्।

प्रमुख मेडिकल अधिकारी प्राध्यापक क्रिस विट्टीले विद्यालय बन्द हुन सक्नेबारे सतर्क रहनू भन्ने बुझ्न आग्रह गरे। साथै अति आवश्यक भए मात्र बन्द गरिने पनि स्पष्ट पारे। उनले भने, ‘हामी बन्द नै गर्छौँ भनेका छैनौँ, अवस्थाअनुसार निर्णय लिन्छौँ।’

यस्तै फुटबल खेल, कन्सर्ट लगायत धेरै मानिस जम्मा हुन सक्ने किसिमका कार्यक्रमहरू बन्देज गर्नुपर्ने उनको तर्क छ। 

बिहीबार तीन जना संक्रमित भएको पुष्टि भएसँगै अहिले बेलायतमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका ५८ देशमा पुष्टि भइसकेको छ। भाइरस संक्रमणका कारण चीनमा मात्र २,७९१ जनाले ज्यान गुमाइसकेका छन् भने चीनभन्दा अन्य देशमा ६७ जनाले ज्यान गुमाइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-02-29 02:53:55

प्रतिकृया दिनुहोस्