चेक बाउन्स प्रकरणमा मोडल खुश्वु ओलीलाई दुई बर्ष जेल

इन्काउन्टरमा मारिएका डन चरीसँग पनि नाम जोडिएको थियो

काठमाडौं जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ। 

सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए। सोही मद्दाको फैसला शुक्रबार भएको हो।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो।

कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन्। उनले खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन्। तर त्यसमा रकम थिएन। कुमारी बैंक न्युरोड शाखामा ओलीको खातामा रकम नभएको भन्दै बैंकले पैसा नदिएपछि कटुवाल अदालत पुगेका थिए।

कटुवालले ओलीविरुद्ध दायर गरेको ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कैद र ३ हजार जरिवानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम आदेश दिएको थियो।

तर अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो। वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन्। त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दिएका थिए।

उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसँगको सम्बन्धका कारण पनि चर्चामा थिइन्। 

प्रकाशित मिति: : 2020-02-29 11:54:39

प्रतिकृया दिनुहोस्