दुई महिनाको छोरालाई कलेजो दिएर बचाउने महेश

‘छोरालाई जीवन दिएँ, अब भविश्य दिनुछ’

अनलाइनखबर

काठमाडौं

विश्वास खड्काथोकी

विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ?

सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र सन्तान जन्माउने ।

०७५ मा गीताको पढाइ पनि सकियो । उनको पेटमा भ्रुण हुर्कन थाल्यो । सन्तान र श्रीमतीको स्याहारका लागि महेशले तीन–चार लाख रुपैयाँ बैंकमा जम्मा पारिसकेका थिए । गीताको पेटमा शिशुले लात्ति हान्न थालेपछि अवस्थी दम्पत्तिको खुशी दुई गुणा भयो । नियमित स्वास्थ्य जाँच गराइरहे, शिशुको अवस्थाबारे अस्पतालले कुनै खराब रिपोर्ट दिएको थिएन ।

तर गीताले सन्तानलाई संसार देखाउन आफ्नो पेट चिर्नुपर्ने भयो । २४ असोज, २०७६ मा शल्यक्रियामार्फत गीताले छोरा जन्माइन् । ‘पाँच वर्षको प्रतिक्षापछि छोरालाई समाउँदा यति खुशी भएको थिएँ कि त्यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ’, महेश सम्झिएरै दंग पर्छन् । शिशु जन्मिएपछि हस्पिटलले भन्यो, ‘बच्चामा सोडियमको मात्रा थोरै कमी छ । एक दिन मेन्टेन गरे पुग्छ ।’

प्रकाशित मिति: : 2020-02-29 19:48:28

प्रतिकृया दिनुहोस्