मेसी र राेनाल्डाेलाई पछ्याउँदै १९ वर्षीय हालान्ड

६ फिट ४ इन्च अग्ला हालान्ड विपक्षी गोल पोस्टमा सटिक प्रहार गर्न माहिर मानिन्छन्। बोरुसिया डर्टमण्डका यी उदयमान युवा स्ट्राइकरको जन्म इंग्ल्यान्डको लिड्समा सन् २००१ को जुलाई २१ मा भएको हाे।

दीप सुवेदी

काठमाडाैं

विश्व फुटबलका दुई स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच उत्कृष्टताका लागि विगत केही दशकदेखि कडा प्रतिष्पर्धा चल्दै आइरहेको छ। विश्व फुटबलका विभिन्न कीर्तिमानदेखि अवार्डमा यी दुईले वर्चस्व जमाएका छन्। हाल यी दुबै फुटबल करिअरको उत्तरार्धमा छन्।

मेसी ३३ वर्षमा लागिसके भने रोनाल्डोको उमेर पनि ३५ वर्ष पुगिसकेको छ। अर्जेन्टिनी स्टार मेसीको जादु बार्सिलोनामा पहिले जस्तो देखिदैन्। यसको प्रमुख कारण उनले बोकिरहेको धेरै थरिको चोट हो। युभेन्ट्सका पोर्चुगाली स्टार रोनाल्डो पनि सर्वाधिक गोलकर्ताको उपाधिका प्रत्यासी हुन छाडेका छन्।

यस्तो अवस्थामा मेसी र रोनाल्डोपछि विश्व फुटबलमा कसले धाक जमाउँला? यो प्रश्न उठ्नु स्वभाविक हो। केही समय अघिसम्म उनीहरूको विकल्पको रुपमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे र ब्राजिलका नेयमारलाई नहेरिएको होइन। तर, यति बेला एम्बाप्पे र नेयमारभन्दा बढी चर्चामा छन्, नर्वेका १९ वर्षीय एक ठिटो। 

जसको नाम हो, एर्भिन बट हालान्ड। ६ फिट ४ इन्च अग्ला हालान्ड विपक्षी गोल पोस्टमा सटिक प्रहार गर्न माहिर मानिन्छन्। बोरुसिया डर्टमण्डका यी उदयमान युवा स्ट्राइकरको जन्म इंग्ल्यान्डको लिड्समा सन् २००१ को जुलाई २१ मा भएको हाे।

नर्वेका पूर्व गोलरक्षक अल्फ–इन्गेका तीन छोरामध्ये हालान्ड जेठा छोरा हुन्। इन्गेले इंग्ल्यान्डको लिड्स युनाइटेडबाट व्यवसायिक फुटबल खेल्दा आमा ग्री मारिताबाट उनको जन्म भएको थियो। पछि उनले म्यानचेस्टर सिटीका लागि पनि फुटबल खेले। नर्वेका लागि ३४ अन्तर्राष्ट्रिय खेलिसकेका इन्गेलाई आफ्नो छोराले पनि क्लब फुटबलमा आफू जस्तै छाप छोडोस् भन्ने थियो। 

सन् २००३ मा इन्गे क्लब फुटबलबाट बिदा भएर घर फर्किदा उनीसँग तीन वर्षीय हालान्ड, कान्छो छोरा एस्टर र बहिनी ग्रेब्रियल थिए।

हालान्डको विषयमा अहिले पनि उनका अविभावक सम्झन्छन्–ऊ मायालु र उर्जावान बच्चा थियो। 

उनी ४ वर्षको हुँदै साथीहरू भेला पारेर चर्च बाहिर फुटबल खेल्थे। उनलाई फुटबल बाहेक पनि गल्फ, एथलेटिक्स, ह्यान्डबललगायत विभिन्न शारीरिक गतिविधिमा बिशेष रुचि थियो। बढ्दो उमेरसँगै फुटबलप्रति उनको विशेष चासो देखियो। जुन इन्गेले महसुस गरिरहेका थिए। चर्च बाहिर छोराले फुटबल खेल्दा इन्गे चाख मानेर नियालिरहेका हुन्थे।

एक दिन उनले आफ्नो श्रीमतीलाई पनि भनेका थिए, ‘जेठो छोरो राम्रो फुटबल खेल्न थालेको छ। किन उनलाई आफू जस्तै फुटबल खेलाडी नबनाउने?’ श्रीमती मारितालाई भने यो कुरा चित्त बुझेन। कारण उनी फुटबलमा त्यति पैसा देख्दिन थिइन। फेरि नर्वेमा फुटबलको विकास अरु देशमा जस्तो पनि थिएन। 

छिमेकी देश इंग्ल्यान्डमा तिब्र गतिमा क्लबको स्थापना हुँदै गर्दा नर्वेका खेलाडी पनि इंग्लिस क्लबतर्फ आकर्षित भए।  जुन हालान्डकी आमा मारितालाई मन पर्दैन थियो। मारिताले आधा जीवन श्रीमान इन्गे बिना तीन सन्तानसँग ब्रायन शहरमा बिताएकी थिइन्। उनको चाहना, छोरा आफूसँगै हुर्कियोस् भन्ने थियो। यो एउटी आमाको आफ्नो सन्तानप्रतिको प्रेम पनि हाे।

तर, छोराको फुटबलप्रतिको लगाव देखेपछि उनलाई पनि कताकता भविष्यमा राम्रो खेलाडी बन्छ भन्ने लागेको थियो। त्यसैले उनी छोराको सफलताका लागि लुकेर प्रार्थना गर्थिन। इन्गेले ६ वर्षको उमेरमा छोरालाई स्थानीय ब्राइन फोटबल्क क्लबमा भर्ना गराए।  

वास्तवमा हालान्डको खेल ब्राइन फोटबल्क क्लबमा हुँदा तिखारिएको हो। ट्रेनिङ सकिएपछि पनि आफ्नो एक साथीसँग भित्तामा बल हानेर बस्थे। बुवालाई नर्वेमा नचिन्ने कोही थिएन। त्यसैले हालान्डको पनि सपना थियो, बुवा जस्तै सर्वत्र चिनिने। उनी अरुभन्दा दोब्बर समय फुटबलमा लगाउँथे। जसका कारण कैयौ पटक परीक्षामा फेल पनि भए। कक्षा कोठाबाट बाहिर निकालिए।

आमा मारितालाई भने छोराको पढाई बिग्रिएकोमा पीडा थियो। उनले लोग्नेसँग कैयौं पटक छोरालाई एकेडेमीबाट बाहिर निकाल्न अनुरोध पनि गरेकी थिइन। तर, इन्गेले मन बनाइसकेका थिए। जुनै पनि हालतमा छोरालाई आफू जस्तै फुटबल खेलाडी बनाउने। त्यसैले उनले मारिताको प्रस्ताव अस्विकार गरे। 

हालान्डलाई घरमा आमाको समर्थन थिएन। तर पनि उनी बुवाको प्रेरणाले अगाडी बढे। हालान्ड फोटबल्कमा हुँदा मिडफिल्डरको भूमिकामा खेल्थे। उनलाई त्यो पोजिसन भने चित्त बुझेको थिएन। उनी खेलको दौरान बारम्बार फर्वाड लाइनमा पुगि हाल्थे। उनको यो हर्कतबाट प्रशिक्षक दिकदार हुन्थे तर क्लबले उनलाई मिडफिल्डमै सिमित राख्यो।

बढ्दो उमेरसँगै हालान्ड १५ वर्षको उमेरमा इंग्ल्यान्डको नटिङ्घम फरेस्ट क्लबतर्फ लागे। करिव ६ महिना नटिङ्घमबाट खेल्ने क्रममा उनको खेलबाट मोल्डे फुटबल क्लबका स्काउट्सहरू प्रभावित भए। उनीहरूले नै हालान्डलाई नर्विच पुर्‍याए। हालान्ड फुटबललाई आफ्नो धर्म मान्थे। अहिले पनि फुटबल उनको लागि धर्मको रूपमा रहेको छ। उनी भन्थे–‘म आफ्नो धर्म नै फुटबललाई मान्छु।’ 

नर्विचबाट खेलिरहेकै अवस्थामा इटालियन क्लब युभेन्टस र म्यानचेस्टर सिटी जस्ता ठूला क्लबले उनीमाथि आँखा लगाए। तर यी दुबै क्लबको प्रस्तावलाई अस्विकार गर्दै उनले अस्ट्रियाको एफसी रेड बुल साल्जबर्गसँग हस्ताक्षर गरे। उनको अन्तर्राष्ट्रिय करिअर सन् २०१९ बाट सुरु भयो। उनले आफ्नो डेब्यु खेलमै होन्डुरसविरूद्ध २०–९ ले विजयी खेलमा एक्लैले १२ गोल गरेका थिए। यही एउटा खेलबाट उनको ख्याती चुलियो। दुई महिनापछि साल्सबर्गका लागि ह्याट्रिक गरेपछि उनको ख्याती झन् चुलियो। 

अस्ट्रियाको पहिलो डिभिजनको लिगमा हालान्डले पहिलो वर्ष नै २८ गोल गरेका थिए। जसमा ५ वटा त ह्याट्रिक मात्र थियो। उनले युरोपको प्रतिष्ठित क्लब फुटबल च्याम्पियन्स लिगमा पनि साल्सबर्गका लागि ८ गोल गरे। 

हाल हालान्ड च्याम्पियन्स लिगमा यो सिजन पहिलो ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्। उनले बेल्जियमको जेङ्कविरुद्ध ह्याट्रिक गरेका छन्। हालान्ड च्याम्पियन लिगमा ह्याट्रिक गर्ने तेस्रो कान्छो खेलाडी पनि हुन्। 

हालान्डमा प्रतिभाको कुनै कमि छैन। दुर्भाग्य उनीसँग मेसी र रोनाल्डोले खेल्ने गरेको जस्तै युरोप हल्लाउन सक्ने बलियो क्लब छैन, न त आफू खेल्ने देशको फुटबल नै अन्तर्राष्ट्रियस्तरमा सशक्त। नर्वेले हालसम्म तीनपटक विश्वकप खेलेको छ। अन्तिमपटक यो देशले सन् १९९८ मा विश्व कप खेलेको थियो। त्यसयता २२ वर्ष भइसक्यो नर्वे विश्व कपमा छानिएकाे छैन। युरो कपमा नर्वेको कथा अझ दुखदायी छ। नर्वेे हालसम्म एकपटक मात्र युरो कपका लागि छनोट भएको छ। यसले सन् २००० मा युरो कप खेलेको थियो। विश्व फुटबलमा नर्वे फिफा वरियतामा ४५ औँ स्थानमा छ। तर उसको उपस्थिति फितलो रहँदै आएको छ।

यसै वर्ष उनलाई नर्वेको सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित गरियो। तीन महिनाअघि उनी जर्मन क्लब बोरुसिया डर्टमण्डमा आवद्ध भए। डर्टमण्ड आउनुअघि उनले यो सिजन साल्जवर्गका लागि १४ खेलमै २८ गोल गरिसकेका थिए। 

यसअघि उनलाई दुई क्लबबाट एकै सिजन खेल्न अनुमति दिएको थिएन। तर युईएफएले गत सिजन नियम परिवर्तन गरेका कारण उनलाई जर्मनी क्लबमा आवद्ध हुन सजिलो भयो। हालान्डलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि कोशिश नगरेको होइन। तर, म्यानयुलाई पछि पार्दै डर्टमण्डले ५ वर्षका लागि अनुबन्धित गर्‍याे।

डर्टमण्डमा पनि हालान्डको आगमन सुखद देखिएको छ। उनले डेब्युमै ह्याट्रिक गरेका छन्। उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १० गोल पुरा गर्ने खेलाडी बनिसकेका छन्। उनले ७ खेलमा १० गोल गरेका छन्, जुन च्याम्पियन्स लिगको इतिहासमा अरु खेलाडीभन्दा ४ कम खेलेर हालान्डले यो करिश्मा गरेका हुन्। 

उनी एकै सिजन ‘डबल फिगर’ पूरा गर्ने एक्लो टिनएजर बनेका छन्। उनले यस सिजन बार्सिलोना टिमले गरेभन्दा बढी गोल गरिसकेका छन् । उनी डर्टमण्डको इतिहासमा तीन फरक प्रतियोगिताको पहिलो खेलमै गोल गर्ने पहिलो खेलाडी पनि हुन्। उनले जर्मन लिग बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको पहिलो खेलमै गोल गरेका थिए।

उनको खेलमा अझै निखार आउने सम्भावना छ। ‘म खुशी छ । तर मेरो विचारमा मैले अझै राम्रो गर्न सक्छु । मैले यो स्तरमा राम्रो खेल्नुपर्छ र सुधारका लागि कडा मिहिनेत गर्नुपर्छ,’ हालान्ड भन्छन्।

डर्टमण्डमा आबद्ध भएयता उनले ५ सय ७० मिनेट खेल्दै १२ गोल गरेका छन्, जुन औसतमा ४१ मिनेटमा १ गोल पर्न आउँछ । यस सिजन बुण्डेसलिगामा ११ खेलाडीले मात्र हालान्ड भन्दा बढी गोल गरेका छन्। तर हालान्डले जम्मा ७ खेल मात्र खेलेका छन्। उनले महिनाभर एक घण्टाभन्दा कम समय खेलेर पनि जनवरीमा बुण्डेसलिगा ‘प्लेअर अफ दि मन्थ’ को अवार्ड जितेका थिए।

‘उनी गोल स्कोरर हुन्। १९ वर्षको उमेरमा उनको प्रतिभा लोभलाग्दो छ,’ डर्टमण्डका उनका सहकर्मी एक्सल विट्सल भन्छन्–‘उनले खेलमा केही सुधार ल्याउनु पर्नेछ। उनी उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन् ।’
 

प्रकाशित मिति: : 2020-02-29 20:21:32

प्रतिकृया दिनुहोस्