अमेरिका–तालिबान सम्झाैताले झस्काएकै हाे त भारतलाई ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको ३६ घण्टे भ्रमण सकेर अमेरिका फर्किए लगत्तै उनी अफगानिस्तानमा दीर्घकालिन शान्ती बहालीका लागि तालिबानसँग युद्धस्तरमा सम्झौतामा जुटेका छन्। 

यसले करिब दुई दिन ट्रम्पको यात्रामा खुसीयाली मनाइरहेको भारतलाई झस्काएको छ। 

तालिबानसँग बिस्तृत शान्ति सम्झौतालाई लिएर सुरु भएको वार्तामा भारतको गम्भीर चासो छ। तालिबानीहरू सम्झौतामार्फत सत्तामा फर्किएकाे खण्डमा सुरक्षामा खतरा पर्न सक्ने सम्भावनाको आकंलन यति बेला भारतीय अधिकारीले गर्न थालेका छन्। किनभने तालिबान पाकिस्तान निकट मानिन्छन् र तालिबान प्रभावित क्षेत्रमा भारतविरूद्ध आतंकवादी तयार पार्न प्रशिक्षण दिने गरिएको भारतीय पक्षको दावी छ। 

यस हिसाबले अमेरिकासँग भारत झस्किनु स्वभाविक पनि हो। भारत भ्रमणमा ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इवान्का, ज्वाइँ जेरेड कुसनर र उनको प्रशासनका वरिष्ठ अधिकारीहरू समावेश थिए। गत सोमबार भारत भ्रमणका क्रममा दुबै देशका समकक्षीले एकअर्काको प्रशंसामा पुल बाधें।

विश्वकै सबैभन्दा ठूलो रंगशाला अहमदाबादको मोटेरामा ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपतिले बिलियन डलरको अत्याधुनिक सैन्य हेलिकाेप्टर र अन्य उपकरणको लागि सम्झौता गरिने घोषणा गरेका थिए। नभन्दै मंगलबार ३ बिलियन डलरको सम्झौता पनि भयो।

ट्रम्पले मोटेरा स्टेडियममा भाषण गर्दा विवेकानन्ददेखि विराट कोहलीसम्मको नाम लिएका थिए। दुई बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’ र ‘शोले’ को पनि नाम लिए। यस समयमा उनले केही गलत नाम प्रयोग गरे पनि हतियार बेच्न भने सफल भए। 

‘हामी सबैभन्दा राम्रो हेलिकोप्टर, लड़ाकू विमान, रकेट, जहाज, ड्रोन र खतरनाक हतियार बनाउँछौं,’ ट्रम्पले भनेका थिए–‘हामी भारतीय सेनालाई अर्ब डलरभन्दा बढीको सैन्य हेलिकोप्टर सहितको रक्षा उपकरण प्रदान गर्नेछौं। मलाई लाग्छ, अमेरिका भारतको सबैभन्दा ठूलो रक्षा साझेदार हुनुपर्छ। एशिया प्रशान्त क्षेत्र सुरक्षित गर्नु पर्नेछ।’ 

सोमबार साँझै ट्रम्प र उनकी श्रीमती मेलानिया ताजमहलमा सुनौलो पल बाँचिरहेका देखिन्थे। ट्रम्प र मेलानियाले ८० मिनेट ताजमहलमा शान्त वातावरणमा बिताए। छोरी इवान्का र ज्वाइँ जुरेड र मेलानियाको साथ ताजमा आएका ट्रम्पले गाइड नितिन सिंहलाई सबै पक्षमा प्रश्न गरेका थिए। ट्रम्प र मेलानियाले नजिकै रहेको ताजको केन्द्रीय ट्याकमा फोटो खिचेका थिए । 

ट्रम्पलाई मंगलबार राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो र ‘गार्ड अफ अनर’ र २१ तोपको सलामी दिइएको थियो।

ट्रम्पकी श्रीमती र पहिलो महिला मेलानिया मंगलबार दक्षिण दिल्लीको एउटा सरकारी स्कूलमा समेत पुगेकी थिइन। यसपछि ट्रम्प र मेलानिया राष्ट्रपिता महात्मा गान्धीको स्मारक स्थलमा पुगेर गान्धीलाई श्रद्धाञ्जलि दिएका थिए।

राष्ट्रपति ट्रम्पले राजघाटमा आगन्तुकको पुस्तकमा सन्देश पनि लेखे । आफ्नो सन्देशमा डोनाल्ड ट्रम्पले लेखेका थिए, ‘अमेरिकाका जनता सार्वभौम र अद्भुत भारतको साथ दृढ रहेको छ। महात्मा गान्धीको पनि त्यस्तै दृष्टिकोण थियो । यो एक अद्भुत सम्मान हो ।’ 

तर, ट्रम्पले राजघाटमा लेखेको मसी सुक्न नपाउँदै तालिबानसँग हुन थालेको शान्ति–सम्झौताले यति बेला भारतको निन्द्रा उडाएको छ। र, अमेरिकासँग ३ बिलियन डलरकाे रक्षा सम्झाैताले एसियाकाे वातावरण, खासगरी चीन र पाकिस्तानसँगकाे सम्बन्धलाई थप तनावयुक्त बनाउन आगाेकाे काम गर्ने निश्चित छ।

सन् २०१६ मा सत्तामा आउँदै गर्दा ट्रम्पले अफगानिस्तानमा फसेका अमेरिकी सेनालाई घर फर्काउने एजेन्डा प्रस्तुत गरेका थिए। अबकाे केही महिनापछि अमेरिकामा राष्ट्रपतिकाे निर्वाचन हुँदैछ। त्यसैले ट्रम्प चुनावअघि आफ्नाे बचन पुरा गर्न चाहन्छन्। 

प्रकाशित मिति: : 2020-03-02 05:02:52

प्रतिकृया दिनुहोस्