‘सेन्टी भाइरस’को कमाई ४ करोड कट्याे

फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले दोश्रो सातामा चलिरहेको छ। चलचित्रले पहिलो सातामा राम्रै व्यापार गरेको थियो। 

चलचित्रको शनिबारको बुकिङ राम्रो देखिएसँगै दोश्रो साताको व्यापार पनि सुखद हुने देखिएको छ। ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन्।

यसकारण पनि दर्शकहरु रंगशाला निर्माणको सहयोगार्थ फिल्म हेर्न हल पुगिरहेका छन्। अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर फिल्म हेर्न थालेका छन्।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्र श्रीमान्–श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित छ। कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा फिल्म उत्कृष्ट बन्न सकेको छैन। यद्यपि, केही पञ्चलाइन भने गजब छन्। 

शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्शन सार्वजनिक गरेका हुन्।

वितरक शाहीका अनुसार, चलचित्रले काठमाडौंमा २ करोड १० लाख ३ हजार र काठमाडौं बाहिर १ करोड ९० लाख ५ हजार ग्रस कलेक्शन गरेको छ। चलचित्रले देशभरबाट दोश्रो साताको शनिबारसम्म ४ करोड ८ लाख कलेक्शन गरेको वितरक शाहीले जानकारी दिए।

चलचित्रको कुल लगानी २ करोड ८५ लाख हो। जसमा ओभरसिज १ करोड १५ लाखमा विक्री गरेका थिए भने ४५ लाख यसको डिजिटल राइट्स थियो। ‘मोटामोटी लगानी सुरक्षित भएको अवस्था छ,’कलाकार सितारामले भने।

चलचित्रले नेपालबाट लगानी उठाउन अझै ४ करोडको हारहारीमा व्यापार गर्नुपर्नेछ। सितारामले भने–‘हामीले निकै राम्रो चलचित्र बनेको थियो भनेका पनि छैनौ र म पनि यो भन्दिन। समिक्षकहरुले लेखेको कुरामा मेरो असन्तुष्टी होइन। सुरुवातका २ दिनपछि दोधारका कारण चलचित्र हेर्न दर्शकको फ्लो कम भएको थियो। हामीले निकै प्रेसरमा चलचित्र बनाएका थियौ। यसैले पनि कती कमजोरी थिए होलान्। हामी कतै चुकेका थियौं। तर, अहिले दर्शक बढ्नुभएको छ।’

रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

प्रकाशित मिति: : 2020-03-02 08:16:29

प्रतिकृया दिनुहोस्